म्याग्दीकी सपना, विश्वको शक्तिशाली महिलाको सूचीमा

म्याग्दीकी सपना, विश्वको शक्तिशाली महिलाको सूचीमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको यस वर्षका एकसय महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर पनि परेकी छन् । बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी रोका मगर प्रभावशाली एक सय महिलाको सूचीमा परेकी छिन् । म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा बुकेनीकी रोका मगर हरेक बर्ष संसारभरका १ सय प्रेरणादायी महिलाहरुको सूचीमा परेको खवरले उत्साहित भएको बताईन् ।

‘विहान समाचार देखेर दंग परे,‘मलाई यो सम्मानले धेरै उत्साहित बनाएको छ’ उनले भनिन् । सपनालाई समेटिएको सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत विश्वभर दर्जनौ लोकप्रिय र संघर्षशिल महिलाहरू छन् ।

पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १०० महिलाको सूची सार्वजनिक गरिएकोमा सपनालाई काठमाण्डौ लगायत देशभरका बेवारिसेको शब दाहसंस्कारसँग जोडेर चर्चा गरिएको छ ।

को हुन् सपना

सपनाले २०७३ सालमा गाउँकै महेन्द्ररत्न माध्यामिक विद्यालयबाट एसईई दिएकी थिइन्। त्यसपछि गाउँ छाडेकी उनी सदरमुकाम बेनीमा कक्षा ११ मा भर्ना भइन् । बाबु–आमा र दाजु–दिदीले भनेको नमान्दा घर परिवारसँग सम्बन्ध बिग्रिएपछि केही समय बुटवल र पोखरा बसिन् । गलत संगतमा फसेपनि सपनाले कक्षा १२ सम्मको पढाई सकेकी छन् । जीवनसँग हारिसकेकी अवस्थामा आत्महत्याको तयारी समेत गरिन् । उनले आफ्नो पुरानो जीवन कुलतमा फसेपनि अव बाँकी जीवन समाजसेवामा लाग्ने बताईन् ।

ललितपुरमा बस्दै आएकी सपनाले दैनिकजसो पशुपतिमा पुगेर आफ्नो जिम्मेबारी पुरा गर्ने गरेकी छन् । दैनिकजसो काठमाण्डौको पशुपती आर्यघाट आसपासमा भेटिने गरेकी सपना बेवारिसे अवस्थामा भेटिएका शबको आफन्त बनेर दागबत्ती दिन्छिन् ।