वागमती प्रदेशको सभाहल निर्माण सुरु

वागमती प्रदेशको सभाहल निर्माण सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हेटौडा । वागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश सभाको सभाहल निर्माण सुरु भएको छ । ४ करोड ३७ लाख २४ हजार रुपैयाँ लागतमा प्रदेशसभाको हल निर्माण प्रारम्भ भएको हो ।

एक सय ४० मिटर लम्बाइ र ८० फिट चौडाइ रहेको सभाहलको क्षमता २ सय ५० जनाको रहेको छ । हेटौंडा १० टिसिएनमा रहेको प्रदेशसभा भवनसँगै सभाहल पनि निर्माण गर्न लागिएको हो । अर्धखाजी÷सगुन÷पारामाउन्ट जेभीले ठेक्का पाएको सभाहल २०७९ बैशाख २१ गतेसम्म निर्माण गर्ने कम्पनीले जनाएको छ ।

प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले सभाहलको बुधबार शिलान्यास गर्दै अहिलेको सभाहल साँघुरो रहेकाले नयाँ सभाहलको निर्माण प्रारम्भ गर्न पाउँदा खुसी लागेको बताए । ‘निर्धारित समय भन्दा अगाडी नै सभाहल निर्माण गर्न आग्रह गर्दछु,’ उनले भने, ‘प्रदेशका सबैजसो भवन एकै स्थानमा बनाउने तयारीमा छौ ।’

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल, उपसभामुख राधिका तामाङ, नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेता इन्द्र बहादुर बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।

५ करोड २६ लाखमा अर्को सभाहल शिलान्यास

हेटौंडा उपमहानगरपालिका कार्यालय प्राङ्गणमा सुविधा सम्पन्न सभाहलको शिलान्यास गरिएको छ । ५ करोड २६ लाख ८३ हजार रुपैयामा निर्माण गरिने सभाहलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार शिलान्यास गरे ।

मुख्यमन्त्री पौडेलले सभाहल हेटौंडाको गहना हुने भन्दै निर्माण चाँडै सक्न निर्देशनपनि दिए । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले पुल, सडक, भवन निर्माणमा तिव्रता दिएको दाबी गरे । चार सय जना अट्ने क्षमता रहेको सभाहल प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले निर्माण गर्ने छ ।