तलब र कोरोना बीमा बापतको रकम खर्चेर मन्त्री भट्टराईले ताप्लेजुङका १६ सय जनाको कोरोना बीमा गराए

ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोरोना बीमा बापत प्राप्त रकम र आफ्नो पारिश्रमिकबाट ताप्लेजुङका एकहजार पाँचसय ७६ जनाको कोरोना बीमा गरिदिएका छन् ।
मन्त्री भट्टराइको स्वकीय सचिवालयले बुधवार एक बिज्ञप्तीमार्फत उक्त जानकारी दिएको हो । मन्त्री भट्टराइका प्रमुख स्वकीय सचिव प्रेम गुरागाँइका अनुसार कोरोना बीमा बापत मन्त्री भट्टराइले प्राप्त गरेको एकलाख रुपंैंया रकमबाट ताप्लेजुङ जिल्लाका तीनसय जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरहरुको कोरोना बीमा गरिएको छ । मन्त्री भट्टराइ गत असोज २८ गते कोरोना संक्रमित भइ त्यसको करिव १० दिन पछि कोरोना संक्रमण मुक्त भएका हुन् । कोरोना बीमा बापत उनले बीमा कम्पनीबाट एकलाख रुपैंया पाएका थिए । स्वकीय सचिव गुरागाँइका अनुसार मन्त्री भट्टराइले यसअघि नै ताप्लेजुङ स्थायी ठेगाना भएका एकहजार दुईसय ७६ जनाको कोरोना बीमा गरिदिएका थिए । मन्त्री भट्टराइकै करिव ८० प्रतिशत आर्थिक सहयोगमा प्रेश संगठन नेपालले ताप्लेजुङका ५० भन्दा बढी सञ्चारकर्मीको कोरोना बीमा गरिदिएको छ । मन्त्री भट्टराई २०७४ सालमा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस्