सुदूरपश्चिम प्रदेशमा १२ प्रतिशत बजेट खर्च

सुदूरपश्चिम प्रदेशमा १२  प्रतिशत बजेट खर्च
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा कूल विनियोजित बजेटको १२ दशमलव ५८ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार रुपैयाँको बजेट मध्ये चालूतर्फ एक अर्ब १० करोड ४७ लाख ५० हजार रुपैयाँ प्रदेश सरकारले खर्च गरेको हो । जुन खर्चको ६ दशमलव ५ प्रतिशत हुन आउँछ । त्यस्तै पूँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार खर्च भएको छ । जुन विनियोजनको तुलनामा ५ दशमलव ९३ प्रतिशत हुन आउँछ । चालू र पूँजीगततर्फको कूल बजेट जोड्दा १२ दशमलव ५८ प्रतिशत बजेट खर्च भएको हो ।

                प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले गत आर्थिक वर्षको तुलनामा चालू र पूँजीगत बजेट कार्यान्वयन पहिलो चौमासिकमा बढेको बताए । उनले भने,‘गत आर्थिक वर्षमा पहिलो चौमासिकमा चालूतर्फ ५ दशमलव ४० प्रतिशत खर्च भएको थियो भने चालू आर्थिक वर्षमा १ दशमलव २५ प्रतिशतले वृद्धि भएर ६ दशमलव ६५ प्रतिशत प्रगति भएको छ ।’ त्यस्तै पूँजीगत बजेटतर्फ अघिल्लो आर्थिक वर्षको प्रथम चौमासिकमा ३ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएकोमा समीक्षा अवधिमा २ दशमलव ४१ प्रतिशतले वृद्धि भई ५ दशमलव ९३ प्रतिशत बजेट कार्यान्वयन भएको उनले बताए ।

                चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्ममा कूल विनियोजनमा २ अर्ब ९ करोड ८६ लाख २६ हजार खर्च भएको बताउँदै उनले भने,‘जुन विनियोजनको तुलनामा ६ दशमलव २९ प्रतिशत हुन आउँछ, जबकी आव ०७६÷०७७को सोही अवधिमा ४ दशमलव ५३ प्रतिशत खर्च भएको छ ।’ गत आर्थिक वर्षको तुलनामा १ दशमलव ७६ प्रतिशतले वृद्धि भएको उनले बताए ।