पिकअप भ्यान त्रिशूलीमा खस्दा ३ जना बेपत्ता

पिकअप भ्यान त्रिशूलीमा खस्दा ३ जना बेपत्ता
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ । पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् । एक जना घाईते छन् ।  प्युठान जिल्लाबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहिबार बिहान साढे पाँच बजे त्रिशुली नदिमा खसेको प्रहरीले जानकारी दिए । पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ ।

                जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का घाइते भएका छन् । टाउको र पेटमा चोट लागेका उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

                वेपत्ता हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जेनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका छन् । भने पिकअप भ्यान समेत पानीले डुबेर नदेखिने अवस्थामा रहेको प्रहरीले जानकारी दिए । बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी कुरिनटारको गोताखोरको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।