एकल पुरुषलाई पनि भत्ता

दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकाले एकल पुरुषहरुलाई भत्ता दिने भएको छ । गाउँपालिकाले ५५ वर्ष पूरा भएका, आर्थिक रूपले विपन्न, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका र विधुर पुरुषलाई चालू आर्थिक वर्षदेखि भत्ता दिन लागेको हो । गाउँपालिकाले यस्ता पुरुषलाई मासिक पाँच सय रुपैयाँका दरले भत्ता दिनेछ ।
‘कार्यविधि पारित गरेर अहिले वडा–वडाबाट एकल पुरुषहरुको तथ्याङ्क संकलन गरिरहेका छौं,’ गाउँपालिका अध्यक्ष नगेन्द्र मल्लले भने, ‘चालु आर्थिक वर्षको साउन एक गतेदेखि लागू हुने गरेर एकल पुरुषहरुलाई भत्ता वितरण गछौं ।’ गाउँपालिकाले चालू आर्थिक वर्षका लागि एकल पुरुषहरुलाई भत्ता दिन तीन लाख रुपैयाँ छुट्याएको छ ।
गाउँपालिका अध्यक्ष मल्लले एकल पुरुषलाई वर्षमा दुई पटक भत्ता वितरण गरिने बताए । उनले यस्तो भत्ता बैंकमार्फत वितरण गरिने बताए । गाउँपालिकाले एकल पुरुषहरुका लागि परिचयपत्रको पनि व्यवस्था गरेको छ ।
गाउँपालिकाले तयार गरेको ‘असहाय एकल पुरुष भत्ता वितरण कार्यविधि’मा पालिकाबाट बसाई सरेर गएमा वा विवाह गरेमा भत्ता नपाउने उल्लेख छ । कार्यविधिमा दोहोरो भत्ता दिन नपाइने उल्लेख छ । गाउँपालिकाले ५५ वर्षमाथिका पुरुषलार्ए भत्ता दिने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्