सोती घटनाः पाँच जनालाई धरौटीमा छोड्न उच्च अदालतको आदेश

सोती घटनाः पाँच जनालाई धरौटीमा छोड्न उच्च अदालतको आदेश
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त मध्येका पाँच जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जनही एक–एक लाख रुपैयाँ धरौटी माग गरी छाड्न आदलतले आदेश दिएको हो ।

 मुख्यन्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक्त मध्ये भिमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा एक–एक लाख धरौटी माग गरेको हो ।

यसअघि सोती घटनाका विषयमा तत्कालिन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच अभियुक्त मध्येका ६ जनालाई थुनामै राखेर कारवाही प्रक्रिया अघि बढाउने वा जमानत वा तारेखमा राख्ने सन्दर्भमा राय बाझिएको थियो । असोज २५ गतेको संयुक्त इजलासमा तत्कालिन मुख्यन्यायाधीश चुडालले साधारण तारेखमा छोड्नुपर्ने राय पेश गरेका थिए भने न्यायाधीश सुदर्शनदेव भट्टले जिल्ला अदालत रुकुम पश्चिमले थुनामा राख्ने गरी गरेको आदेश सदर गर्नुपर्ने लिखित राय पेश गरेका थिए ।

उच्च अदालतका रजिष्ट्रार माधवप्रसाद आचार्यका अनुसार मुख्यन्यायधिस सुवेदीको एकल इजलासले ६ जना मध्येका एक सविन पुनलाई थुनामै राख्न र बाँकी पाँच जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।