धरान उपमहानगरद्वारा विद्यालय सञ्चालन ढाँचाको प्रस्ताव माग

धरान । विद्यालयमा पठनपाठन सुचारु गर्ने कि नगर्ने भन्ने अन्योलबीच धरान उपमहानगरपालिकाले विद्यालयहरुसँग नै विद्यालय सञ्चालनको प्रस्ताव माग गरेको छ ।
अब धरानका निजी र सामुदायिक विद्यालयहरुले कुन ढाँचामा विद्यालय चलाउने हो भनेर एक साताभित्र प्रस्ताव पेश गर्नुपर्नेछ । यो प्रस्ताव शिक्षा मन्त्रालयले गत कार्तिक २० गते स्वीकृत भएको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा आधारित हुनुपर्नेछ । उक्त कार्यढाँचाको बुँदा नं ३.४ मा विद्यालय सञ्चालनको ७ वटा विकल्प दिइएको छ । धरानका विद्यालयहरुले ती मध्ये कुनै एउटा विकल्प छानेर विद्यालय सञ्चालनको ढाँचा प्रस्ताव गर्नुपर्नेछ ।
शिक्षा महाशाखाका अनुसार नगर प्रमुख स्तरीय निर्णयबाट विद्यालय सञ्चालनको लागि विद्यालयहरुसँग नै प्रस्ताव माग गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार आज धरानका विद्यालयहरुलाई प्रस्ताव पेश गर्न पत्राचार गरिएको छ । ‘विद्यालयहरुको अलग अलग प्रकृति हुन्छ । विद्यार्थी संख्या, भौतिक पुर्वाधार, जनशक्ति पनि फरक हुन्छ,’शिक्षा महशाखाका अधिकृत रामचन्द्र कार्कीले भने,‘त्यसैले विद्यालय कसरी चलाउने हो ? त्यो प्रस्ताव पठाउनु भनेको हो । प्रस्ताव आएपछि छलफल गरेर निर्णय हुन्छ ।’
विद्यालयहरुले सञ्चालन भएको तह, विद्यार्थी संख्या, शिक्षक संख्या, कक्षा सञ्चालन हुने कक्षा कोठा संख्या, डेस्क बेञ्चको संख्या पनि प्रस्तावमा खुलाउनुपर्नेछ । यस्तै, कार्यढाँचामा उल्लेख भएको ७ वटा विकल्पहरुमध्ये आफ्नो अनुकुलता अनुसार सञ्चालन गर्ने ढाँचा पनि प्रस्तावमा खुलाउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्