नेपाल–भारत सीमा खुलाउन धर्ना प्रदर्शन

नेपाल–भारत सीमा खुलाउन धर्ना प्रदर्शन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगन्ज । नेपालभारत सीमा खुलाउन वीरगन्जमा स्थानीय नागरिक अगुवाहरुले धर्ना र प्रदर्शन सुरु गरेका छन् । सीमाबन्द रहेको कारण मानिसको जनजीवनमा कठिनाई भएको भन्दै उनीहरुले साबिक इनर्वा नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय अगाडि धर्ना दिएका हुन् ।

शनिवार बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा धर्ना गरिएको हो । नेपाल–भारत खुल्ला सीमा संवाद समूहको ब्यानर राखेर विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा धर्ना आयोजनामा गरिएको हो । सीमापारी नाता सम्बन्ध रहेको, बैवाहिकसिजन सुरु हुन लागेको, नेपाली बिद्यार्थीहरु अध्ययनका लागि भारत जानु पर्ने, औषधी उपचारको लागि आउजाउ गर्नु पर्ने जस्ता कार्यमा सरकारले बेवास्ता गरेर सीमा नाका बन्द गरेकाले आन्दोलन सुरु गरेको बताइएको छ । 

त्यसतै ब्यापार ब्यवसायमा पनि सिमा नाका बन्द हुनुले समस्या परेको आन्दोलनकारीको भनाई छ । ‘उद्योगहरुमा कतिपय प्राबिधिक जनशक्ति भारतचबाट मगाउने बाध्यता छ । मेशिनहरुको मेन्टिनेन्सका लागि भारतीय कम्पनीका प्राविधिक बोलाउनु पर्छ । वीरगन्जमा व्यापार ब्यवसायमा धक्का पुगेको र सामाजिक साँस्कृतिक कार्य बाधा भइरहेकाले तत्काल सीमा नाका खुलाउन आन्दोलन गरेको सीमा संवाद समूहका संयोजक कृष्ण पटेलले बताए ।

सीमाना खुल्ला गर, लकडाउन अवधिमा हरेक नागरिकलाई १० हजार रुपैया भत्ता सरकारले उपलब्ध गराउ, नेपाली नागरिकमाथी शोषण बन्द गर, लकडाउनको अवधी भर बैंक ब्याज मिनहा गर जस्ता नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए ।