ईलामको पानीटार चियाबारीमा कृष्णलीला

ईलामको पानीटार चियाबारीमा कृष्णलीला
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । सामाजिक विषय र प्रेमकथामा आधारित फिल्म ‘कृष्णलीला’मा जिल्लाको सुन्दर पानीटार चियाबारी समेटिँदैछ । ८० प्रतिशत दृश्य इलामकै रहने फिल्ममा चियाबारीको हरियालीले दर्शक आकर्षित गर्ने आशासहित  १८ दिन बस्नेगरी छायांकन टोली इलाम आएको हो ।

                फिल्मको माध्यमबाट मेची पहाडको पर्यटन प्रवद्र्धनसमेत गर्ने उद्देश्यले छायांकन यहीं केन्द्रित गरिएको निर्माता केवल तामाङले बताए । ‘यो क्षेत्रलाई फिल्मको प्राकृतिक स्टुडियोका रूपमा विकास गर्ने पनि हाम्रो प्रयास हो,’ उनले भने, ‘इलाम र पाँचथरको प्राकृतिक सौन्दर्य त्यसै पनि आकर्षक छ, यसकै प्रचार–प्रसार गर्न हामी आएका हौं ।’ इलामकै अन्तु, पशुपतिनगर र फिक्कलमा समेत छायांकन गरिने फिल्मको केही दृश्य कोसी ब्यारेजको रहनेछ । पाँचथरसँगको सीमावर्ती बजार राँकेबजार र पाँचथरकै नयाँ पर्यटकीय गन्तव्य साधुटार, लब्रेकुटी, सुकेपोखरीलगायतका स्थल फिल्ममा समेटिने उनले बताए ।

                फिल्ममा सम्भावित राजनीतिक विषयको पनि केही अंश समेटिएको निर्देशक दीपक ओलीले बताए । ‘यहाँको ग्रामीण परिवेश, प्राकृतिक सौन्दर्य र दृश्यले दर्शकलाई एउटा फरक स्वाद पस्किने आशा छ,’ उनले भने, ‘फिल्ममा सामाजिक विषय र प्रेमकथा समेटिएको छ ।’ यसअघि ‘कुम्भकर्ण’ र ‘पण्डित बाजेको लौरी’ निर्देशन गरिसकेका ओलीले कृष्णलीलाजस्तो सामाजिक विषयको फिल्ममा आफ्नो रुचि भएको जनाए ।

                पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङलगायतको मुख्य भूमिका रहेको फिल्ममा रवीन्द्र झा, हिमला गौतम,  नवीन रेग्मी, आयुष गुरागाईं, किशोर साम्बाहाम्फे र किशोर रायमाझीलगायतको अभिनय रहनेछ ।