युवतीको हत्या गराएको आरोपमा बाबु, आमा र भिनाजु पक्राउ

युवतीको हत्या गराएको आरोपमा बाबु, आमा र भिनाजु पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । गत कात्तिक २६ गते राति रौतहटको माधव नारायण नगरपालिका– ७ लौकाहा टोलमा सुतिरहेको अवस्थामा टाउकोमा गोली हानी हत्या गरिएको घटनाको अनुसन्धानको क्रममा बाबु, आमा र भिनाजुसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१७ वर्षकी युवती अमृताकुमारी साहको हत्या अभियोगमा बाबु राम अयोध्या साह तेली, आमा सीता देवी साह र भिनाजु लक्ष्मण साहसमेत छ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बाबु र भिनाजुले योजना बनाएर अरुलाई पैसा दिई गोली हान्न लगाएको र आमाले योजना सफल गराउन भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको रौतहट प्रहरी प्रमुख एसपि सिद्धिविक्रम शाहले बताएका छन् । बाबु र भिनाजुले देवाही गोनाही नगरपालिका वडा नम्बर २ लक्ष्मीनिया करुनियाका कैमुल देवानलाई एक लाख रुपैया दिएर गोली हानी हत्या गराउन लगाएका थिए ।

यसअघि गत दशैँमा पनि बाबु र भिनाजुले युवतीलाई भारतमै हत्या गराउन परोहा नगरपालिका वडा नम्बर ४ का छोटेलाल साहलाई डेढ लाख रुपैया दिएका थिए तर योजना असफल भएको थियो ।

युवतीलाई गाउँकै युवकसित प्रेम सम्बन्ध रहेको र युवतीका बाबुले गाउँमा इज्जत जाने डरले प्रेम सम्बन्धलाई अस्वीकार गरी हत्या गर्न लगाएका थिए । युवतीको गत वर्ष फागुनमा बिहे भएको भए पनि असारमा सम्बन्ध विच्छेद भइसकेको थियो ।

घटनामा युवतीका बाबु, आमा, भिनाजुका साथै शेख अलियास, बहुदल भनिने शेख इस्लाम अन्सारी, शेख इम्तियाजलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गराएको छ । युवतीमाथि गोली प्रहार गर्ने कैमल देवान फरार रहेकोले खोजतलाश जारी रहेको रौतहट प्रहरी प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराएका छन् ।