चार दिनदेखि वेपत्ता किशोरको हत्या

इटहरी । वेपत्ता भएको चार दिनपछि सुनसरी दुहवीका एक किशोरको हत्या गरेको अवस्थामा सोमबार विहान शव फेला परेको छ ।
मंसिर १० गतेदेखि वेपत्ता भएका दुहवी वडा नं.२ बीरगाँउका १७ वर्षे शिक्षादिप माध्यमिक विद्यालय विराटनगरमा कक्षा १२ मा अध्ययनरत सुजननारायण चौधरीको शव फेला परेको हो । उनको शव सोही वडाको अरुण वनस्पति उद्योगको कम्पाउण्डको उत्तरपट्टी खालि जग्गाको सिलाम झारको घारी भित्र फालेको हो ।
सुजन साथीको घर जान्छु भनेर घरबाट हिडेपनि नफर्किएपछि बुबा सुरेन्द्रनारायण चौधरीले मंसिर ११ गते इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएका थिए । सुजनका सानोबुवा निमनारायण चौधरीका अनुसार घरबाट साँझको समयमा हिडेर रातिसम्म नआएपछि परिवारका सदस्यले फोन सम्पर्क गरेका थिए । फोन सम्पर्क गर्दा सुजनको सट्टा अरुले नै फोन रिसिप गरेका थिए । फोन रिसिप गर्नेले ‘सुजन हाम्रो नियन्त्रणमा छ । फिर्ता लान पैसा चाहिन्छ’ भन्ने जवाफ दिएका थिए । त्यसपछि सुजनको फोन स्वीच अफ भयो, कुनै पनि बेला खुलेन् ।
सुजनले फिर्ता लान पैसा चाहिन्छ भनेपछि अपहरणकारी समूहको कब्जामा रहेको शंका परिवारका सदस्यलाई भएकाले तत्काल गएर उजुरी दिए । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाको कमाण्डमा खोजतलास गर्ने क्रममा शव पारेको हो ।
सो घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँका २० वर्षे सुमन झालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका झा सुजनको घर नजिकैका हुन् । उनी फ्याट्रीमा मजदुरी काम गर्छन् । प्रहरीले शंका लागेर झाको घरमा खोजतलास गर्दा सुजनको मोवाइल फेला परेपछि पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्