सेनाको मृत्यु प्रकरणः १४ जना सेनाबिरुद्द मुद्दा दर्ता भएर अनुसन्धान सुरु

सेनाको मृत्यु प्रकरणः १४ जना सेनाबिरुद्द मुद्दा दर्ता भएर अनुसन्धान सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । छ महिनाअघि सेनाको २ नम्बर वाहिनी हिले धनकुटामा सेनाका मेजर हवाल्दारको मृत्यु प्रकरण शंकास्पद भएको दावी गर्दै  परिवारका सदस्यले किटानी जाहेरी दिएका १४ जनाको नाममा मुद्दा दर्ता भएको छ।

जेठ ५ गते गम्भिर घाइते भएर १२ गते बिएमसि अस्पताल विराटनगरमा मृत्यु भएका सेनाका हवाल्दार सुनसरी रामधुनी–३ का  पर्शुराम भट्टराईकी श्रीमती कमलाले घटना शंकास्पद भएको जनाउँदै सेनाका तत्कालिन वाहिनीपतिसहित १४ जनाबिरुद्द किटानी जाहेरी दिएपछि मुद्दा दर्ता भएर अनुसन्धान सुरु भएको हो । कमलाले दिएको किटानी जाहेरी अनुसार तत्कालीन धनकुटा २ नम्बर बाहीनीका बाहिनीपति यमप्रसाद ढकालसहित सैनिक राजकुमार बस्नेत, तुन्जिङ शेर्पा, बाबुराम कार्की, दिलबहादुर कार्की, अकलबहादुर घले मगर, शेरबहादुर लिम्बु, गणेश श्रेष्ठ, अमरबहादुर देउजा, योगेन्द्र बास्तोला, भुवन थापा, लिला बि.क, आर्मस्ट्रङ्ग कबिरथ र दुर्गा बहादुर तामाङ्बिरुद्द मुद्दा दर्ता भएर अनुसन्धान सुरु भएको हो ।

तत्कालिन वाहिनीपति ढकालसहित १४ जनाबिरुद्द किटानी जाहेरी जिल्ला प्रहरी धनकुटाले लिन अस्वीकार गरेपछि हुलाकमार्फत पठाइको भट्टराईंको परिवारले साताअघि पत्रकार सम्मेलन गरि जनाएको थियो । पत्रकार सम्मेलनमा घटनाको वास्तविकता छानबीन गरेर सार्वजनिक गर्न पनि माग गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले मृतक भट्टराईंका आफन्तले हुलाका कार्यालयमार्फत पठाएको जाहेरी दर्ता गरेर अनुसन्धान थालिएको जनाए । ‘घटनाको बारेमा अहिलेसम्म यकिन पत्ता लागेको छैन, मुद्दा दर्ता भएर अनुसन्धान थालिएको छ,’ अधिकारीले भने  ।

 ३८ वर्षीय पर्शुराम, २ नम्बर बाहिनीमा जेठ ५ गते राति अचेत भइ लडेको अवस्थामा फेला परेको बाहीनीले जनाएपनि तत्काल परिवारका सदस्यलाई कुनै जानकारी नदिईकन अस्पताल भर्ना गरेपछि मात्र थाहा पाएकाले घटना रहस्यमय भएको परिवारका सदस्यले बताउँदे आएका छन् ।