सप्तकोशीको श्रीलंका टापुमा बिजुली पुग्यो

सुनसरी । सप्तकोशी पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झन्डै तीन किलोमिटर वालुवै वालुवाको बगर पार गरेपछि पुगिने सुनसरीको श्रीलंका टापुमा बिजुली पुगेको छ ।
ग्रामीण विद्युतीकरण परियोजना अन्तर्गत दुई करोड हाराहारी लगानीमा श्रीलंका टापुका बासीन्दाका लागि बिजुली जडान गरिएको हो । नेपाल विद्युत प्राधिकरण इटहरी शाखाका अनुसार तीनपटकको बजेटमा दुई हजार छ सयभन्दा बढी घरधुरीका लागि बिजुली जडान गरिएको हो ।
यहाँ केही समयअघि सम्म बिजुलीको पोल देखदैन्थ्यो । प्रविधिको नाममा गाउँका धेरैको हातमा मोबाइल थियो । तर, मोवाइल चार्ज गर्न धेरैले सोलार जडान गरेका थिए । अझ छ–सात वर्षअघि त मोबाइलको व्याट्री चार्ज गर्न उनीहरुले करिव तीन किलोमिटर टाढाको प्रकाशपुरबजार नाउँ चढेर आउने गर्थे ।
लोडसेडिङको बेला प्रकाशपुरमै दिनभरी कुर्नुपर्ने वाध्यता पनि थियो । मोबाइल चार्ज उनीहरुका लागि समय र पैसा दुबै हिसावले महंगो थियो । एक पटक चार्ज गर्दा ५ रुपैयाँ र नाउँ चढेको २० रुपैयाँ तिर्नुपथ्यो अनि दिनभरिको समय खर्चनु पथ्यो । अहिले भने विजुली वत्ती पुगेको छ । सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बिचमा अवस्थित रहेको श्रीलंका टापु वस्ती अहिले बराहक्षेत्र वडा नं. ६ र ९ मा पर्छ । यो वस्तीमा बिजुली वत्ती बाल्ने धोको पूरा भएको सुवोध चन्द्रवंशीले बताए । बिजुली वत्ती गाउँमा पुगेपछि अहिले गाउँलेले घरैपिच्छे टिभी राखेका छन ।
धेरै अगाडिदेखि श्रीलंका टापुका बासीन्दाका लागि बिजुली वत्तीका लागि पहल भएपनि बल्ल सार्थकता पाएको संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्