नेकपा धनकुटाको जनप्रतिनिधिलाई निर्देशनः नेतालाई होइन, जनतालाई घरदैलोमा सेवा दिएर खुसी पार्नुस

नेकपा धनकुटाको जनप्रतिनिधिलाई निर्देशनः नेतालाई होइन, जनतालाई घरदैलोमा सेवा दिएर खुसी पार्नुस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । नेकपा धनकुटाले आफ्नो मातहतबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिसँग समिक्षा अन्तरक्रिया तथा छलफल गरेर प्रगति विवरण माग गरेको छ । जनतासँग प्रत्यक्ष नजिक रहेका जनप्रतिनिधिहरुले गरेको कामको प्रगति के छ ? जनताको माग र गुनासो के छ ? विकास निर्माणको काम कसरी अगाडी बढेको छ ? र गाउँमा जनताको आवश्यकता के छ ? भन्ने विषयमा जानकारी लिने आगमी दिनमा थप योजना बनाएर काम गर्नको लागि प्रगति विवरण मागेको नेकपा धनकुटा अध्यक्ष राजेन्द्र राईले बताए ।
प्रतिनिधि सभाका सदस्यसमेत रहेका अध्यक्ष राईले सांसद विकास कार्यक्रमबाट गरेका कामको प्रभावकारी र सांसदको पहल र कार्यप्रति जनताको धारणा के छ भनेर बुझ्ने प्रयास भएको बताए । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले गरेका कामको नतिजा देखिने बेला भएको छ । जनताको गुनासो संंबोधन गर्नको लागि नगरपालिका, गाउँपालिका र वडापालिकाले गरेका काम प्रभावकारी बुझेर थप काम गर्नको लागि यो समिक्षा र छलफलले सहयोग गरेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

मंसिर १३ गते महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका जनप्रतिनिधिसँग, मंसिर १४ गते धनकुटा र पाख्रीबास नगरपालिका र सहिदभुमी गाउँपालिकाका जनप्रतिनिधिसँग र मंसिर १६ गते चौविसे र साँगुरीगढी गाउँपालिकाका जनप्रतिनिधीसँग कार्य प्रगति विवरण मागेर छलफल गरेको नेकपा धनकुटाका अध्यक्ष एवं सांसद राईले बताए । कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
वर्तमान सत्ता संघियताको पहिलो अभ्यास हो । काम गर्न गाह्रो र चुनौतिपूर्ण छ । काम गर्दा नेता खुशी नहुन सक्छन । तर जनता खुसी हुनै पर्छ । त्यसैले फोनबाट हैन, जनताको घर दैलामा पुगेर खुशी हुनेगरी काम गर्न निर्देशन दिएको अध्यक्ष राईले बताए ।
नेकपा धनकुटा स्थानीय बिभागले आयोजना गरेको कार्यक्रममा प्रदेश सांसद ईन्द्रमणी पराजुली, निरन राई, जिल्ला समन्वय समिति धनकुटाका सभापति टंक चौहान लगायत जिल्ला कमिटिका नेताहरुले पनि राम्रो काम गर्न निर्देशन दिएका छन् ।