मनोमानी शुल्क नलिन धरानका निजी विद्यालयलाई उपमहानगरको निर्देशन

मनोमानी शुल्क नलिन धरानका निजी विद्यालयलाई उपमहानगरको निर्देशन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । धरान उपमहानगरपालिकाले अनलाईन कक्षाको शुल्क स्थानीय सरकारले निर्धारण नगरि नै मनोमनोढंगले अभिभावकहरुसँग नउठाउन निजी तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ ।

निजी विद्यालयका अभिभावकहरुले केही विद्यालयहरुले जर्बजस्ती शुल्क तोकेर विल पठाउने गरेको र आफुहरु मर्कामा परेको भन्दै उपमहानगरमा घेराउ तथा धर्नालगायत कार्यक्रममार्फत दबाब दिएपछि उपमहानगरपालिकाले यस्तो निर्देशन दिएको हो । बुधबार धरानका प्रमुख तिलक राईले प्रमुखस्तरीय निर्णय गरेर विद्यालयहरुलाई शुल्क निर्धारणबारे निर्णय नभएसम्म कुनै पनि किसिमको शुल्क नउठाउन निर्देशन दिएको उपमहानगरपालिकाले जनाएको छ ।

शिक्षा महाशाख प्रमुख एवं उपसचिव रत्न कटवालले उक्त निर्णय र निर्देशनबारे धरानका सबै निजी विद्यालयहरुलाई जानकारी पत्र पठाइएको बताए । शिक्षा मन्त्रालयको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७को दफा ३० मा विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधिनमा रही स्थानीय तहले स्वीकृत गरे वमोजिम हुने भन्ने व्यवस्था गरेको छ । गत भदौ १९ मा स्वीकृत भई लागु भएको यो निर्देशिका वमोजिम धरान उपमहानगरपालिकाले विद्यालयहरुले लिन पाउने शुल्क निर्धारणबारे निर्णय गर्न सकेको छैन । स्थानीय सरकारले शुल्क निर्धारण नगरे पनि निजी विद्यालयहरुले अभिभावकहरुलाई शुल्क तिर्न दबाब दिएको, शुल्क नबुझाए विद्यार्थीहरुलाई परीक्षामा सामेल नगराउने भन्दै मानसिक तना दिएको भन्दै धरानका अभिभावकहरु संगठित भएर आन्दोनलमा उत्रिएका छन् । उनीहरुले मंगलबार पनि उपमहानगरमा घेराउ गर्दै नाराबाजीसमेत गरको थिए ।

धरान अभिभावक विद्यार्थी परिवारका अगुवा सुवर्ण श्रेष्ठले उपमहानगरको निर्देशन सकरात्मक भएपनि कार्यान्वयन हुनुपर्ने धारणा राखे ।