कोरोना प्रभावः ४० प्रतिशत अपाङ्गता भएकाले रोजगारी गुमाए

पोखरा । विश्वव्यापी महमारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को प्रभाव अपाङ्गता भएकाहरुलाई नराम्ररी परेको छ । महासंघले हालै गरेको सर्भेक्षणमा कोभिडका कारण अर्थतन्त्र खस्किदा नेपालमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी र आयश्रोत पूर्ण रुपमा गुमाएको राष्ट्रिय अपाङ्गता महासंघले जनाएको छ । बल्ल बल्ल सीप सिकेर सानोतिनो जागिर खाने उनीहरुको पूर्ण रुपमा जागिर गुमेको राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले जानकारी दिए ।
महासंघले अतिसक्त पूर्ण असक्त भएका ६० प्रतिशतमा कोभिड र यसको संक्रमणबाट बच्ने उपायबारेमा सूचना नै नपुगेको जनाएको छ । कोभिडपछि अपाङ्गता भएका ४५ प्रतिशतले यसअघी पाउँदै आएको आधारभूत र अत्यावश्यक स्वास्थ्य सेवा प्राप्त गर्न छाडेका छन् । सेवा प्रभावित हुँदा उनीहरु स्वास्थ्य सेवाबाट बञ्चित भएको प्रदेश अध्यक्ष शर्माले बताए ।
महासंघले अपाङ्गता भएर राहत पाउनुपर्ने अवस्थाका ५४ प्रतिशतले राहत पाउन नसकेको जनाएको छ । यसमा सबैभन्दा धेरै पूर्ण र अतिसक्त अपाङ्गता भएकाहरु रहेको शर्माले बताए ।
कोभिडपछि विद्यालय बन्द हुँदा विद्यालयहरुले अनलाईन प्रविधिबाट पठनपाठन सञ्चालन गरेपनि बौद्धिक अपाङ्गता भएका, अटिजमलगायतका अपाङ्गता भएका बालबालिकाहरुले यो शिक्षा लिन नपाएको जनाइएको छ । त्यस्तै बहिरा र दृष्टिविहिन बालबालिकाहरुपनि प्रविधि र पहुँचमा नहुँदा अनलाई शिक्षाबाट बञ्चित रहेको प्रदेश अध्यक्ष शर्माको दाबी छ ।
महासंघले अपाङ्गता भएकाहरुका लागि रोजगारी, शिक्षा, स्वास्थ्य र सुविधासँगै पुर्नस्थापनाका विषयमा नीति राम्रो बनेपनि कार्यान्वयन फितलो हुँदा अपाङ्गता भएकाहरु त्यसबाट टाढा रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्