उदयपुरमा वनपाले मृत्यु प्रकरणः हत्या भएको भन्दै परिवारले दिए किटानी जाहेरी

उदयपुरमा वनपाले मृत्यु प्रकरणः हत्या भएको भन्दै परिवारले दिए किटानी जाहेरी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । दुईदिनअघि आफै पड्केको भरुवा बन्दुकको गोलीले निधन भएका उदयपुरका वनरक्षक (वनपाले)को शव परिवारजनले बुझ्न मानेका छैनन् । गस्ती जाँदा जंगलमा भेटेर ल्याएको भरुवा बन्दुक आफै पड्केर बुधबार राति निधन भएका तपेश्वरीस्थित सवडिभिजन वन कार्यालयमा कार्यरत वनपाले ४० वर्षीय लेखनाथ वास्तोलाका आफन्तले उनको हत्या भएको भन्दै शव नबुझ्नुका साथै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

                डिभिजन वन कार्यालय गाईघाट प्रमुख अम्बिकाप्रसाद पौडेलले भने तपेश्वरीको भुलभुले सामुदायिक वन समूह क्षेत्रको जंगलमा बेवारिसे अवस्थामा भेटिएको बन्दुक आफै पड्केर वास्तोलाको घट्नास्थलमै मृत्यु भएको बताएका छन् । तर, स्थायी घर सुनसरीको दुहवी रहेको वास्तोलाका आफन्तले बन्दुक आफै पड्केर नभई हत्या भएको भन्दै शव बुझ्न नमानेको तथा उल्टै प्रहरीमा किटानी जाहेरी दिन गएको खवर आएको उनले बताए ।

                डिएफओ पौडेलले आकस्मिक र दुखद घट्ना भएको अनुसन्धानले देखाए पनि सत्यतथ्य पत्ता लगाउन डिभिजनकै एक अधिकृत नेतृत्वमा अनुसन्धान टोलीसमेत गठन गरिसके पनि आफन्तले जवरजस्ती हत्याको आरोप लगाउँँदै प्रहरी गुहारेको गुनासो गरे । घट्नाको भोलिपल्ट बिहीबार विहान यथार्थ बुझ्न घट्नास्थल पुग्दा आफुलगायत सवडिभिजन प्रमुख सत्यनारायण चौधरीमाथि मृतकका आफन्तले गालीगलौज र हातपातको प्रयास गर्दै गाडीमाथि ढुंगा प्रहार गरेको पौडेलको भनाई छ । ढुंगा प्रहारले वन कार्यालयको गाडीमा क्षति हुनुका साथै केही कर्मचारी घाईतेसमेत भएकोे उनले बताए ।

                प्रारम्भिक अनुसन्धान अनुसार गस्तीबाट फर्केपछि बन्दुक झिक्ने क्रममा पड्केर उनको मृत्यु भएको खुलेको छ । तर, सवडिभिजन र प्रहरीको सो भनाईमा कुनै सत्यता नभएको भन्दै आफन्तले निश्पक्ष छानविन गरी दोषीमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिन गएको बताइएको छ ।

                आक्रोसित आफन्तले पोष्टमार्टम गर्न बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लानुअघि प्रहरी टोलीमाथि हातपातसमेत गर्न खोजेको डिएफओ पौडेलले बताए । बन्दुक आफै पड्केर मृत्यु भएको कुरा चित्तबुझ्दो नभएको र राति १० बजेको घट्ना आफैमा शंकास्पद भएको जिकिर आफन्तको रहेको छ ।

                जिल्ला प्रहरी कार्यालयले किटानी जाहेर लिन नमानेको गुनासोसमेत आफन्तको छ । तर, प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल इलाका प्रहरी कार्यालय लिमचुङबुङको नयाँ भवन शिल्यान्यास गर्न गएकाले जाहेरी लिन ढिला भएको कार्यालयले जनाएको छ ।

                डिएफओ पौडेलले वास्तोला विगत ६ वर्षदेखि सोही सबडिभिजनमा कार्यरत रहेकाले सबैका प्रिय भएको बताए । त्यसकारण उनको हत्या गर्नुपर्ने कुनै कारण नदेखिएको पौडेलको दावी छ । सहकर्मीको मृत्युले सबै कर्मचारी परिवारलाई मर्माहत बनाईरहेका बेला आफन्तले लगाएको संगीन आरोपले थप दुःखी बनाएको पौडेलले बताए ।