राजनीतिक बल मिच्याईंका आधारमा पुलको उद्घाटन गर्नु खेदजनक छः मन्त्री गुरुङ

राजनीतिक बल मिच्याईंका आधारमा पुलको उद्घाटन गर्नु खेदजनक छः मन्त्री गुरुङ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले तनहुँमा राजनीतिक बलमिच्याईंका आधारमा पुल उद्घाटन गरिएको भन्दै खेद व्यक्त गरेका छन् । मन्त्री गुरुङले विज्ञप्ती निकाल्दै पुल निर्माण गर्ने सम्बन्धित कार्यालयलाई जानकारी नै नदिई राजनीतिक बलमिच्याईंका आधारमा तनहुँमा पुल उद्घाटन गरिएको भन्दै उनले खेद व्यक्त गरेका हुन् । विज्ञप्तीमा भनिएको छ,‘सम्बन्धित कार्यालयसँग जानकारी र समन्वय नगरि अपारदर्शी ढंगले राजनीतिक बलमिच्याईंका आधारमा पुलको उद्घाटन गर्दै हिंड्नु भनेको गलत प्रक्रिया मात्र होईन, आफैमा खेदजनक विषय हो । उनले आगामी दिनमा यस्ता क्रियाकलाप कहिंकतैबाट पनि नदोरियोस् भन्दै चेतावनीसमेत दिएका छन् ।

मन्त्री गुरुङले कथित उपभोक्ता समितिको आयोजनामा अनधिकृत रुपमा नेपाली कांग्रेस पार्टीको दलबलसहित पुलको उद्घाटन गरिएको र यो हाँस्यास्पद र लज्जास्पद विषय भएको टिप्पणी गरेका छन् । यसरी उद्घाटन गरिएको विषयलाई राजनीतिक प्रतिष्ठा र बनाउनु भनेको तनहुँका सिंगो नेपाली कांग्रेस र त्यहाँका नेता कार्यकर्तामा पलाएको हिनग्रन्थीले उत्पन्न बहुलठ्ठीपूर्ण क्रियाकलापबाहेक केही नभएको उनको भनाई छ । मन्त्री गुरुङले कांग्रेसको पालामा पुल बनेको भन्ने हल्लाप्रतिपनि घुमाउरो पारामा विरोध गर्दै सो पुल सरकारकै पालामा बनेको दाबी गरेका छन् । उनले संघीय सरकार र गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम अन्तर्गत निर्माण हुने विकास निर्माणका सबै कार्यक्रम र परियोजनाहरुको स्वामित्व सम्बन्धित सरकार र त्यस अन्तर्गतका कार्यालय मातहत रहने भन्दै सो योजनाहरुको शिलान्यास र उद्घाटन पनि सम्बन्धित सरकारका निकायहरुसँगको समन्वय र ब्यबस्थापनमा हुने कानूनी प्रक्रिया, मान्यता र प्रचलन रहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।