इलाम नगर मंसिर २४ सम्मलाई बन्द

इलाम नगर मंसिर २४ सम्मलाई बन्द
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकामा कोभिड–१९ को संक्रमण बढेपछि हाटबजार, विद्यालय, पसल र सवारी साधन बन्द गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले नगर क्षेत्रमा पर्ने हाटबजार, स्थानीय रुटमा चल्ने सवारी साधनलगायत आउँदो २४ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।

                यहाँका सरकारी कार्यालय, बैंक तथा वित्तीय सेवा चाहिँ आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गरी न्यूनतम् कर्मचारीको माध्यमबाट सञ्चालन गर्ने निर्णय गरिएको छ । यो अवधिमा इलाम नगरभित्र पर्ने मेची राजमार्गमा चाहिँ लामो दूरीका सवारी साधन चल्न पाउनेछन् । केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले कोभिड–१९ नियन्त्रणका लागि अनुगमन समितिहरूसमेत गठन गरिएको जनाए ।

                नगरको सम्बन्धित वडाको वडाध्यक्षको संयोजकत्वमा रहने समितिमा वडाको स्वास्थ्य संस्थाका प्रमुख, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र प्रहरीका प्रतिनिधि सदस्य रहनेछन् । ‘समितिले संक्रमित व्यक्ति सुरक्षितसाथ आइसोलेसनमा बसे÷नबसेको, हाटबजार, पसल, स्कुल खुले÷नखुलेको अनुगमन गर्ने छ र आवश्यक निर्देशनसमेत दिनेछ,’ प्रजिअ सेढाईंले बताए ।

                इलाम नगरपालिका, इलाम अस्पताल, महेन्द्ररत्न बहुमुखी क्याम्पस, सरकारी तथा निजी बैंक, बजार क्षेत्र र विभिन्न वडाका कर्मचारीसमेतमा कोरोना पोजिटिभ पुष्टि भएपछि नगरले अत्यावश्यकबाहेक सबै सेवा रोकेको छ । मेयर महेश बस्नेतले नगरले दिने अत्यावश्यकबाहेकका सेवा आउँदो २४ गतेसम्मलाई स्थगित गरिएको जनाए । ‘यो अवधिभित्र सुरु हुने कक्षा ११ को परीक्षाको तालिका पनि २६ गतेदेखि लागू हुनेगरी सारिएको छ,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालना गरी २५ जनाभन्दा थोरै कामदार राखेर निर्माणका काम भने गर्न सकिने निर्णय भएको छ ।’ नगरले परीक्षणको दायरा बढाउन सम्बन्धित निकायलाई अनुरोधसमेत गरेको छ ।    

                इलाम नगरपालिकामा बिहीबारसम्म कोभिड–१९ पोजिटिभको संख्या १ सय १७ छ । मंसिर १४ गते एकैदिन १८ र मंसिर १७ गते १५ जनामा कोभिड–१९ पोजिटिभ देखिएको थियो । ६८ जनाको भने पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म कोभिड–१९ पोजिटिभको संख्या २ सय ४९ रहेकामा १ सय ७६ जना निको भएका छन् ।