अव्यवस्थित परिवारले ४० वर्षपछि लालपुर्जा

उदयपुर । उदयपुरमा गाउँ ब्लकको जग्गाको धनीपुर्जा (लालपुर्जा) वितरण सुरु भएको छ । स्थानीयले वर्षाँैदेखि चासभोग गर्दै आए पनि आधिकारिक कागजात नभएका गाउँ ब्लकका जमिनको लालपुर्जा वितरण गरिएको हो ।
सदरमुकाम गाईघाटमा शुक्रबार त्यस्ता ७२ परिवार किसानले लालपुर्जा पाएका छन् । त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित १ नं. नापी टोलीले पुर्जा वितरण त्रियुगा नगरपालिका ५ देउरीका ७२ घर परिवारलाई जग्गाको पुर्जा वितरण गरेको हो । राष्ट्रिय भूमि अधिकार मञ्चले गर्दै आएको लामो समयदेखिको संघर्षपछि वास्तविक किसानले जग्गाको लालपुर्जा पाएको जनाएको छ । मञ्चका उदयपुर संयोजक फुर्तिमान राईले विगत २०२८ सालदेखि बसोवास गर्दै आएका देउरीबासलाई पुर्जा वितरण गरिएको बताए ।
चासभोग गर्दै आएको झण्डै ४० वर्षपछि पुर्जाविहीन किसानले जग्गाको आधिकारिक प्रमाण पाएकोमा उनले खुसी व्यक्त गरे । राईका अनुसार ०६५ सालदेखि गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गर्नका लागि मञ्चले निरन्तर संघर्ष गर्दै आएको परिणाम स्वरुप किसानले पुर्जा पाएका हुन् । किसानलाई पुर्जा दिलाउने एक खालको उदेश्य मञचले पुरा गरेको भन्दै संयोजक राईले थप उदेश्य प्राप्तीका लागि किसानलाई एकीकृत गर्दै मञ्चले ठाउँठाउँमा अभियान चलाईरहेको बताए ।
वर्षौंदेखि भोगचास गर्दै आएको जमिनको लालपुर्जा पाएकोमा किसानहरु खुसी भएका छन् । ३–४ दशकदेखि घर बनाएर बस्दै आएका उनीहरुलाई अव्यवस्थित बसोबासी भन्दै राज्यले पुर्जाविहीन नागरिक बनाएर राखेको पीडा अन्त्य भएकोमा उनीहरु खुसी हुनु स्वभाविक भएको मञ्चका अध्यक्ष वीरबहादुर तामाङले बताए ।
हाल जिल्लाका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा पुर्जा वितरण कार्यक्रम भईरहेको जनाइएको छ । यी नगरपालिकामा वितरण भईसकेपछि कटारी नगरपालिकामा पनि पुर्जा वितरण गर्ने कार्यक्रम रहेको संयोजक राईले बताए । पुरोनो बसोवासको रुपमा रहेको गाउँ ब्लक जग्गाको पुर्जा दिलाउन मञ्चले धेरै पटक चरणबद्ध संघर्ष गर्दै आएको छ । संघर्षकै परिणामस्वरुप किसानले पुर्जा पाएको उनले बताए ।

प्रतिकृया दिनुहोस्