जीप दुर्घटना ४ जनाको मृत्यु, सातजना घाइते

जीप दुर्घटना ४ जनाको मृत्यु, सातजना घाइते
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हुम्ला । कर्णाली प्रदेशको हुम्ला जिल्लामा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिमिकोट गाउँपालिका–७ का ३० वर्षिय  पर्वत सुनार, सिमिकोट   २ का २९ बर्षिय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ बर्षिया दुखी तामाङ र  ४८ बर्षिय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।

हुम्लाको सिमिकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना भएको थियो ।  दुर्घटनामा परेर एक बच्चासहित  सात जना घाइते भएका छन् ।

 सिमिकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते हुनेमा सिमिकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सीका कल्पना सिंह, सिमिकोट–८ खोल्सीकै  एक बर्षे बालक मिलन सिंह,   सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।  घाइते सबैको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले हुम्लाले जनाएको छ  । बोलेरो जिप मूल सडक भन्दा झण्डै ६सय मिटर तल खसेको छ । जिप दुर्घटना भएको खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीबासीले उद्धार कार्य थालेका थिए । 

बोलेरो जीप हुम्ला सदरमुकाम सिमिकोट देखि बिरामी लिन हेप्काखोला गएको थियो । बिरामी ल्याएर फर्कने क्रममा दुर्घटनामा परेको हो ।