बिजुली माग्दै जुम्लाबासी आन्दोलित

जुम्ला । झण्डै आधा महिनादेखि नियमित विजुली आपूर्ति नभएपछि जुम्लाबासी आन्दोलित भएका छन् । उनीहरुले तत्काल बिजुली नियमित आपुर्ति हुने व्यवस्था गर्न माग गरेका छन् । बिद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति जुम्लाले पत्रकार सम्मेलन गरी नियमित बिद्युत आपूर्तिको माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्ला अन्धकार हुँदा पनि कसैको चासो नगएको प्रति आक्रोश पोखे । उनले भने,‘आधा महिना देखि सदरमुकाम खलंगा उज्यालोविहिन छ । उपभोक्ताका आधारभुत आवश्यकता पुरा हुन सकेका छैनन् । बिजुली आपुर्तिका लागि न विद्युत प्राधिकरण जिम्मेवार बनेको छ । नत यहाँका राजनीतिक दलका नेताको चासो नै गएको छ । बिजुली आपुर्ति प्रक्रिया अन्यौलमा परेको छ । त्यसैको विरुद्ध यो निर्णायक आन्दोलन हो । ’
समितिले अहिलेकै जेनेरेटरबाट बिद्युत आपूर्ति गर्नुपर्ने, राष्ट्यि प्रसारण लाइन ६ महिना भित्र जडान गरी स्थायी रुपमा विद्युत आपूर्ति गर्नुपर्ने, टेण्डर आव्हान गरी जोडिएको मेसिनमा पटक पटक खराबी देखिएकोले यथासिघ्र छानविन गर्नु पर्ने, छानविन प्रतिवेदनका आधारमा ठेकेदारलाई कानुनी प्रक्रिया अगाडी बढाउनुपर्ने माग राखेको छ ।
जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुदा कार्यसम्पादन प्रभावित भएकोले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने संघर्ष समितिले जनाएका छन् ।
दियालो बालेर सडकमा निस्कने, विद्युत तथा सञ्चार सम्वन्धी प्रयोगमा आउने नेपाल टेलिकम, विद्युत प्राधिकरणमा विद्युतीय सामाग्री बुझाउने जस्ता कार्यक्रम रहेका छन् ।

प्रतिकृया दिनुहोस्