कोशी टप्पुमा पाहुना चराको जमघट सुरु

कोशी टप्पुमा पाहुना चराको जमघट सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी ।  कोशी टप्पु वन्य जन्तु आरक्षमा यसवर्ष एक सय ५० प्रजातिका पाहुना चरा आएका छन् । पाहुना चरा बढी संख्यामा आउनु चराप्रेमिका लागि खुसीकोे विषय हो ।

कात्तिक पहिलो सातादेखि आउँन थालेका पाहुना चरा पुस दोस्रो सातासम्म आउँने गर्छन् । आरक्षका वार्डेन चन्द्रशेखर चौधरीका अनुसार अहिलेसम्म एक सय ५० हाराहारी प्रजातिका चरा आएका छन् । अझै समय भएकाले गर्दा अरु आउने आशा गरिएको छ । आरक्ष प्रशासनका अनुसार चरा प्रजातिका हिसावले बढी नै देखिएपनि संख्यात्मक हिसावले भने चाँहि विगतकै वर्षजस्तै रहेको छ ।

 कोशी टप्पु आरक्ष क्षेत्रमा यस वर्ष एउटा नयाँ प्रजातिको चरा पनि फेला परेको छ । नयाँँ प्रजाति पहेलो ठुडे कलह हाँस देखिएको हो । नयाँ प्रजातिको एउटा मात्र चरा देखिएको आरक्षका वार्डेन चौधरीले बताए । यो नयाँ प्रजातिको हाँस कोशी टप्पुमा पहिलोपटक रेकर्ड भएको चराविद् डाक्टर हेमसागर बरालले बताए । उनका अनुसार यसअघि पहेलो ठुडे कलह हाँस पोखरा र जगदीसपुरमा रेकर्ड भएको थियो । कोशीमा सवैभन्दा बढी जलपंक्षी चरा आउने गरेकोमा पहेलो ठुडे पनि फिरन्ते प्रजाति हो । यो साइबेरिया क्षेत्रबाटै आउने गर्छ  ।

 २०६५ भदौ २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि आउने पाहुना चराको संख्यामा कमी  आएको थियो । पछिल्लो वर्षमा भने केही हदसम्म आशलाग्दो चरा आउन थालेको वार्डेन चौधरीले जनाए । नेपालमा कुल ८ सय ८८ प्रजातिका चरा पाइन्छन् । जसमध्ये लगभग २ सय  प्रजाति सिमसारमा निर्भर छन् ।