प्रहरी तालिमको लागि पर्वतीय प्रहरी प्रतिष्ठान निर्माण गर्न कर्णाली प्रदेश सरकारको निर्णय

प्रहरी तालिमको लागि पर्वतीय प्रहरी प्रतिष्ठान निर्माण गर्न कर्णाली प्रदेश सरकारको निर्णय
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । कर्णाली प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पर्वतीय प्रहरी प्रतिष्ठान निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले दक्ष जनशक्ति उत्पादनका लागि उच्च हिमाली क्षेत्रमा प्रतिष्ठान निर्माण गर्न लागेको हो । ‘प्रतिष्ठान निर्माणका लागि तीन करोड ९३ लाख रुपैयाँ छुट्याएको छ,’ आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले भने, ‘प्रदेश प्रहरी कार्यालयले उपर्युक्त ठाउँको खोजी गरेर निर्माण सुरु गर्छ ।’

प्रदेश प्रहरी कार्यालयका अनुसार साविकका कर्णालीका हुम्ला, डोल्पा, मुगु वा जुम्ला मध्ये कुनै एक स्थानमा पर्वतीय प्रहरी प्रतिष्ठान निर्माण गरिने छ । यस्तै प्रदेश सरकारले कर्णालीमा प्रहरी तालिम केन्द्र स्थापनाका लागि एक करोड रुपैयाँ छुट्याएको छ । अहिले कर्णाली प्रदेशको तालिम केन्द्र बाँकेको नेपालगञ्जमा छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले पर्वतीय प्रतिष्ठान र तालिम केन्द्रका साथै अन्य प्रहरीका संरचना निर्माणका लागि थप पाँच करोड रुपैयाँ प्रदेश प्रहरी कार्यालयलाई अख्तियारी दिइएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले विपद्मा मृत्यु भएका कर्णालीका २३ घर–परिवारलाई ४६ लाख रुपैयाँ राहत सम्वन्धीत जिल्ला प्रशासन कार्यालयमार्फत पीडित परिवारलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यस्तै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगत सुर्खेत र जुम्लामा कार्यालय रहने गरेर भू तथा जलाधार कार्यालय स्थापना गरिएको छ । यस्तै डिभिजन वन कार्यालय वीरेन्द्रनगरलाई छुट्याएर दुई वटा बनाइएको छ । अव सुर्खेतमा डिभिजन वन कार्यालय भेरी र डिभिजन वन कार्यालय वीरेन्द्रनगर गरेर दुई वटा डिभिवन वन हुनेछन् । यस्तै १० वटा जिल्लामा गरेर ११ वटा सव–डिभिजन वन कार्यालय बनाइएको छ ।