जिप दुर्घटनामा एउटै घरका ३ जनासहित चार जनाले ज्यान गमुाए

जिप दुर्घटनामा एउटै घरका  ३ जनासहित चार जनाले ज्यान गमुाए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दिपायल । डोटीमा भएको जिप दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका–६ मूलखटालीका एकै परिवारका तीनजनाको ज्यान गएपछि पुरै गाउँ शोकमा डुबेको छ । आइतबार राती डोटीको दिपायलबाट बोगटान तर्फ जाँदै गरेको जिप दुर्घटनामा परी २८ वर्षीया मञ्जु त्रिपाठी अवस्थी, उनकी ६५ वर्षीया सासुआमा डम्मरी अवस्थी र ३ वर्षीय छोरा मिलन अवस्थीको मृत्यु भएको हो । एकैगाउँका तीनजनाको मृत्यु भएपछि गाउँ शोकमग्न भएको स्थानीय अम्बादत्त अवस्थीले  बताए । घरबाट छोरा, सासुआमासहित विदा मनाएर कार्यथलो डोटी फर्किदै गर्दा बोगटान फुडसिल गाउँपालिका–७ मा जिप दुर्घटनामा एउटै घरका तीन जनाले ज्यान गुमाएका हुन् ।

दुर्घटनामा परी मृत्यु भएका मञ्जु डोटीको बोगटान फुड्सील गाउँपालिकामा नायवसुब्बा पदमा कार्यरत थिइन । गत माघमा लोकसेवा पास गरेकी उनी कार्यक्षेत्रमा जाँदै दुर्घटनामा परेकी हुन् ।

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारमा आइतबार बिहान करिब १ बजे भएको जिप दुर्घटनामा ग्रामिण जनस्रोत व्यवस्थापन परियोजनामा कार्यरत डोटीको केआइसिंह गाउँपालिका–४ चन्केसैनका कृषि प्राविधिक हरि भट्टको पनि मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र मञ्जुका छोराको उपचारको लागि दिपायल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्रबहादुर मल्लले जानकारी दिए । म१च ५५० नम्बरको जिप  सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ग्लोबल आइएमइ बैंकका सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यमिक विद्यालयका शिक्षक हेमन्त बिष्ट र जिप चालक कैलाश बम घाइते रहेका छन् । उनीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।