ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियान

ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेको छ । कोसी राजमार्गअन्तर्गत मोरङको बुढीगंगास्थित ट्राफिक पोष्ट निमुवाले प्रदेश १ ट्राफिक कार्यालय इटहरीको निर्देशनमा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न योजना बनाएर अभियान नै थालेको जनाएको छ ।

विराटनगरदेखि सुनसरीको दुहबीस्थित बुढी खोलासम्मको भागमा निमुवा ट्राफिकले विभिन्न अभियान थालेको हो । सडकमा छाडिएका चौपायाको घाँटी, साइकलको पछाडिको भाग र ट्याक्टरको पछाडिको भागमा टल्कने स्टीकर ( रिफ्लेक्टर)टास्ने, पैदल यात्रुलाई सडक छेउबाट हिँड्न लगाउने, सवारी साधनका बत्ती दुरुस्त बनाउन लगाउने जस्ता अभियान थालेको ट्राफिक पोष्ट निमुवाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई)तुलामणि आचार्यले बताए ।

रातिका समयमा गाईवस्तु नदेखिने, सडकका खल्डा खुल्डी र अत्याधिक तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढी हुने गरेको  असई आचार्यले बताए । ‘धेरैजसो दुर्घटना हुने स्थान विराटनगरदेखि बुढी खोलासम्मको बढी दुर्घटना हुने गरेको छ,’ असई आचार्यले भने, ‘छाडा चौपाया नियन्त्रण गर्न नसकेर हैरान भएपछि सडकका चौपायाको घाँटीमा टल्कने स्टीकर टाँस्न थालेका हौं । बत्तीको उज्यालो परेपछि स्टीकर टल्कने हुँदा दुर्घटना कम गर्न सहयोग पुग्ने आशा गरेका छौं ।’

छाडा चौपाया, साइकल, ट्याक्टर र सडक डिभाइडरमा समेत स्टीकर टाँसिएको छ । विराटनगर–धरान ६ लेन सडक विस्तारका क्रममा भएकाले ठाउँ ठाउँमा खाल्डा खुल्डीमा परेर दुर्घटना हुने गरेको छ भने फराकिलो सडक बनेसँगै सवारी साधनका गति तीव्र र जथाभावी चलाउँदा दुर्घटना बढेको हो ।

‘सडकमा चौपायालाई छाडा नछाड्न, छाडिएका चौपायालाई नियन्त्रण गर्नका लागि समवन्य गरी दिनका लागि सम्बन्धित पालिकामा भन्दा कुनै समवन्य नभएपछि चौपायाको घाँटीमा टल्कने स्टीकर राख्न थालेका हौं,’ असई आचार्यले भने ।

सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले अनेक उपाय लगाउँदै आएको मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोद्दारले भने । ‘हामीले दुर्घटना न्यूनीकरणका लागि अभियान नै बनाएका छौं । सम्बन्धित निकायसँग समवन्य गरेर सडकलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा योजना बनाएर काम थालेका छौं ।’