इँटाभट्टामा १९ जनालाई जिउँदै जलाएको राजपुर बम काण्डका मुख्य योजनाकार आलम पक्राउ

इँटाभट्टामा १९ जनालाई जिउँदै जलाएको राजपुर बम काण्डका मुख्य योजनाकार आलम पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । रौतहट जिल्लाको अपराधको इतिहासमा कलंकको रुपमा चिनिएको राजपुर बम काण्डको मुख्य योजनाकार तथा अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले पुर्पक्षको लागि जेलमा रहेका नेपाली कांग्रेसका नेता तथा सांसद महम्मद आफताब आलमका भाइ महम्मद महताब आलमलाई पक्राउ गरेको हो ।

पक्राउ परेका आलम चर्चित बम काण्डका मुख्य योजनाकार रहेको मानिन्छ । प्रदेश प्रहरी कार्यालयको टोलीले सोमवार बिहान बौद्धिमाई नगरपालिका–७ बडकी बंकुल एरियाबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसार्इँले बताए । 

प्रहरीले आलमलाई बडकी बंकुल एरियाबाट पक्राउ गरेको बताए पनि आलम लामो समयदेखि भारत बिहारको मोतिहारीमा बस्दै आएको र भारतीय प्रहरीको सहयोगमा आलमलाई मोतिहारीबाटै पक्राउ गरिएको बुझिएको छ ।

पक्राउ परेका महताब आलमकै नेतृत्वमा राजपुरमा बम बनाउने काम भइरहेको थियो । आलमको नेतृत्वमा संविधान सभाको निर्वाचनमा धाँधली गरी बुथ कब्जा गर्न र महम्मद आफताब आलमलाई जसरी पनि चुनाव जिताउन बम बनाउने सामान जुटाइ बम बनाउने काम पनि गरिरहेका थिए । २०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा बिस्फोट भएको थियो ।

बम बनाउने योजनाको नेतृत्व गरेका आलमले रौतहटको सरुअठाका पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुतसमेत घाइते भएका १६ जनालाई ट्रयाक्टरमा लोड गरी नजिकैको इँटा भटामा जिउँदै जलाएका थिए । घटनामा मृत्यु भएका तीन जनालाई पनि आलमले इँटा उद्योगमा जलाउन लगाएका थिए ।

इँटा उद्योगका मुख्य मिस्त्रीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका मिस्त्रीले पनि महम्मद महताब आलमले नै घाइते मानिसलाई इटा भट्टीमा जलाउन लगाएको बयान दिइसकेका छन् । घटनामा पक्राउ परेका चार अभियुक्तहरुले अहिलेसम्म साँसद महम्मद आफताब आलमको निर्देशनमा महम्मद महताब आलमले नै इँटा भठीमा मानिसलाई जिउँदै पोल्न लगाएको बयान दिइसकेका छन् ।

पक्राउ परेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा महम्मद महताब आलमले आफ्नो दाइ मोहम्मद आफताब आलमको निर्देशनमा घटना लुकाउने उदेश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरुलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका आलमको कोरोना परीक्षण गरी अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराएका छन् ।