बलात्कार आरोपी सिद्धबाबालाई अदालतबाट सफाई

इटहरी । आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले सफाई पाएका छन् ।
उनलाई आज जिल्ला अदालत सुनसरीको १ नम्बर न्यायाधिश अर्जुन कोइरालाको एकल इजलाशले सफाई दिएको हो । इजलाशमा बहस प्रतिवादीतर्फका वकिलहरुको मात्र एकतर्फी गराएर फैसला दिएकोले विवादित भएको छ । सरकारी वकिलको कार्यालयले भने मिसिल नभएको कारण देखाउदै पेशी हटाउन निवेदन दिएको थियो । तर, न्यायधिश कोइरालाले अस्वीकार गर्दै एकतर्फी बहस गराएर सफाई दिएका हुन् । उनको फैसलाप्रति सरकारी वकिलको कार्यालयले असन्तुष्टी जनाएको छ ।
सरकारी वकिल गोकुल निरौलाका अनुसार गत साता मात्र सर्वोच्च अदालतले गिरीको मुद्दाको सन्दर्भमा पुर्पक्षबाट रिहा नहुने फैसला गरेको थियो । यो मुद्दाको मिसिल सर्वोच्चबाट आइनपुगेको कारण पहिलो पटक पेशी हटाउन सरकारी वकिलको कार्यालयले निवेदन दिएको थियो । तर, १ नम्बर न्यायाधिश कोइरालाले निवेदन अस्वीकार गर्दै प्रतिवादीहरुको मात्र एकतर्फी बहस गराएको उनले बताए । ‘फैसला भयो रे भन्ने सुन्यौं । हामीले त मिसिल नभएकोले पहिलो पटक पेशी हटाउन माग गर्दै निवेदन दिएका थियौं । तर अस्वीकार भएछ । मिसिल नभै कसरी बहस गर्न जानु ?’सरकारी वकिल निरौलाले बताए ।
कानुन व्यवसायीहरुका अनुसार मुद्दाको सन्दर्भमा ३ पटकसम्म पेशी हटाउन पाउने कानुनी व्यवस्था छ । यो प्रकरणमा सरकारी वकिलको कार्यालयले कारण प्रष्ट खुलाएर पहिलो पटकलाई पेशी हटाउन निवेदन दिएको थियो । तर, न्यायाधिश कोइरालाले सिधै अस्वीकार गरेर सफाई दिने काम गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्