गाउँपालिकास्तरीय कोभिड–१९ अस्पताल सञ्चालनमा

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले गाउँपालिका स्तरीय कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । संघीय सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको ६ कोठे भवनबाट सेवा सुरु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए ।
कोभिड अस्पताल ज्वालामुखी गाउँपालिका वडा नं ३ अमराईमा सञ्चालनमा ल्याईएको हो । भवन निर्माण गर्न संघीय सरकारले ४० लाख र गाउँपालिकाले १० लाख रुपैयाँ उपलव्ध गराएको गाउँपालिकाले जनाएको छ । सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै प्रत्येक स्थानीय तहमा ५ देखि १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि थालनी समेत गरेको छ । ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा १५ शैयाको आधारभूत अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिसकेको छ ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणपछि पनि ५ शैयाको अस्पताललाई निरन्तरता दिने गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनाले बताए । अस्पतालबाट कोभिड उपचारसंगै सामान्य स्वास्थ्य सेवा र ओपिडि सेवा समेत दिइने बताइएको छ । अस्पताल सञ्चालन गर्न मेडिकल अधिकृत सहित चार जना जनशक्ति रहेको अध्यक्ष तिमल्सिनाले बताए । आधारभूत स्वास्थ्य केन्द्रको रुपमा निर्माण गरेको भवनबाट कोभिड रोकथाम भैसकेपछि पनि गाउँपालिकाले श्रोत व्यवस्थापन गरेर अस्पतालबाट प्रदान गरिने सेवा निरन्तर गरिने बताए । अस्पतालको संघीय सांसद खेमप्रसाद लोहनीले उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस्