विप्लव समुहले मोरङमा प्रधानाध्यापकको हत्या

विप्लव समुहले मोरङमा प्रधानाध्यापकको  हत्या
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । विप्लव माओबादीका कार्यकर्ताले मोरङको विकट उत्तरी क्षेत्र मिक्लाजुङमा मंगलबार एक जना प्रधानाध्यापकको गाली हानी हत्या भएको छ ।

मिक्लाजुङ गाउँपालिका–१ स्थित बर्खे जंगलमा मंगलबार बिहान मृत अवस्था प्रधानाध्यापकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको टाउकोमा गोली हानी हत्या भएको छ ।

‘मिक्लाजुङको बर्खे जंगलमा राजेन्द्र श्रेष्ठको शव फेला परेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले भने, ‘त्यो ठाउँ निकै विकट रहेकाले घटना थाहा पाउन साथ प्रहरी परिचालन गरेको छौं । त्यहाँ पुग्न हिँडेर जानुपर्ने भएकाले अहिले घटनाको बिस्तृत विवरण आइसकेको छैन । हत्या कसले र किन गरेको भन्ने यकिन नभएकाले त्यहाँ पुगेपछि मात्रै सबै कुरा थाहा हुन्छ ।’

घटना स्थलमा मोरङ प्रहरीका साथै छिमेकी जिल्लाबाट समेत प्रहरी परिचालन भइसकेको र त्यस क्षेत्रबाट बाहिरिने सबै नाकामा प्रहरी परिचालन गरी विशेष निगरानीसमेत बढाइसकेको मोरङ प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई मंगलबार बिहान सवा ६ बजेतिर घरबाट ४÷५ जनाको समूहले अपहरण गरी लगेको थियो । उनलाई घरबाट करिब १ किलोमिटर पर जंगलमा लगी टाउकोमा गोली हानी हत्या गरेको प्रहरी स्रोतले भन्यो ।

१० वर्षे द्वन्द्वकालपछि भएको शान्ति सम्झौता पछाडि भूमिगत पार्टीले मोरङमा पहिलो पटक सर्वसाधारणको हत्या गरेको प्रहरी स्रोतले बताएको छ । त्यो क्षेत्र पाँचथर, इलाम र मोरङको सीमा हो । पछिल्लो समय विप्लव समूहले आधार इलाका बनाएर बसेको सूचनाका आधारमा प्रहरी विशेष निगरानी बढाउँदै आएको थियो । प्रहरी स्रोतका अनुसार विप्लव समूहले त्यस क्षेत्रमा तालिम र अन्य विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।