संघीयताले विकास र समृद्धिको ढोका खोलेको छः मुख्यमन्त्री राई

संघीयताले विकास र समृद्धिको ढोका खोलेको छः मुख्यमन्त्री राई
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयताले देशमा विकास र समृद्धिको ढोका खोलेको बताएका छन् । मंगलबार उदयपुरको बेलका नगरपालिकाका बिभिन्न ९ वटा पूर्वाधार संरचनाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।      

                नगपालिकाका ४, ५, ७ र ९ नं. वडा कार्यालय भवन, क्वारेन्टाईन भवन, सिटीहल, पुल र स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले राज्य पुनर्संरचनासँगै देशमा संघीय व्यवस्था प्राप्तपछि जताततै विकासको मूल फुटेको बताए । संघीयताले मुलुकमा स्थानीय, प्रदेश र संघीय गरी ३ तहको सरकार सञ्चालन गर्ने व्यवस्थाको अभ्यास भईरहेको भन्दै राईले ३ वर्षको छोटो अवधिमा फटाफट सकारात्मक परिणाम देखिन थालेको बताए ।

                विगतमा एकात्मक राजनीतिक व्यवस्थाका कारण बारम्बार दलीय किचलो, द्वन्द्व र लडाई झगडा हुँदा जनताले धेरै दुःख पाएको स्मरण गर्दै लामो त्याग र संघर्षबाट देशमा संघीय गणतन्त्रात्मक राज्य व्यवस्था आएपछि बल्ल स्थीर राजनीतिसँगै देशमा विकास र समृद्धिको बाटो खुलेको मुख्यमन्त्री राईले बताए । राजनीतिक परिवर्तनपछि दलहरुले संघीयता रोजेको र त्यसको कार्यान्वयन गर्न चुनावमा जाँदा जनताले स्थीर सरकार सञ्चालन गर्ने अभिमत दिए अनुसार ३ तहको सरकारले हातेमालो गर्दै विकास र समृद्धिको अभियान चलाईरहेको उनले बताए ।

                कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा १ नं. प्रदेश सचिव सुरेशकुमार राई (हिमाल) ले अहिले ३ तहको सरकार भएकाले आपसी समन्वय र सहकार्य गर्दै देश विकासको अभियान तिब्र बनाउन आग्रह गरे ।

                बेलका नगरप्रमुख दुर्गाकुमार थापाले कृषि व्यवसाय, पशुपालन र भौतिक पूर्वाधार निर्माणको काममा सिंगो नगरबासीलाई समृद्ध बनाउने अभिप्रायले आफु लागी परेको बताए । 

एकैदिन ९ वटा संरचनाको उद्घाटन

                विहान ११ः०० बजे बेलका नगरपालिका आईपुगेका मुख्यमन्त्री राईले बेलका ८ मा निर्मित २१ लाख ८२ हजार ५१ रुपैंयाको चक्रपुर ट्रस प्रविधिको पुल उद्घाटन गरेका थिए । त्यस्तै ३१ लाख ६२ हजार ४ सय ८३ मा निर्मित ५ नं. वडा भवन, २२ लाख २१ हजार ६ सय २५ रुपैंयाको ४ नं.वडा भवन र सोही वडामा ३० लाख ४९ हजार ८ सय ९३ रुपैंयाको ४ को आधारभूत स्वास्थ्यकेन्द्र भवनको पनि उद्घाटन गरेका थिए ।

                त्यसैगरी २५ लाख ५ हजार ४ सय ९ रुपैंयामा निर्मित ६ नं. वडा भवन, ३६ लाखमा वडा नं. ९ रामपुरमा निर्मित सिटी हल, प्रदेश सरकारको ४२ लाख ४७ हजार ५ सय २३ लागतमा निर्मित ९ नं. वडामै ८ लाखमा निर्मित महिला सुरक्षा आवास गृह र प्रदेश सरकारबाट ४२ लाख ४७ हजार ५ सय २३ मा निर्मित खसी बोका संकलन केन्द्र भवन र ९ मै निर्मित आदिबासी जनजाति भवनको पनि उद्घाटन गरेका थिए । कार्यक्रममा बिभिन्न वडाको तर्फबाट स्थानीय आवश्यक्ताका विकास निर्माणको माग गर्दै वडाध्यक्षहरुले मुख्यमन्त्री राईसमक्ष ज्ञापनपत्रसमेत बुझाएका थिए ।