कोशी टप्पुको जग्गा विक्री तथा खनजोत गर्ने समूहका मुख्य नाइके पक्राउ

इटहरी । पूर्वी तराईको जैविक विविधता प्रतिनिधित्व गर्ने कोशी नदी तटिय क्षेत्रमा अवस्थित एकमात्र संरक्षित क्षेत्र कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रको जग्गा विक्री तथा खनजोत गर्ने समूहका दुई जना पक्राउ परेका छन् । जैविक विविधताको हिसावले अत्यन्त महत्वपूर्ण मानिएको आरक्षको मध्यवर्ती क्षेत्रको जग्गा विक्री तथा खनजोत गर्ने समूहका वराहक्षेत्र वडा नं. ९ का अमूल चन्द्रवंशी र मनोज पाल पक्राउ परेका हुन् ।
पक्राउ पर्ने समूहका दुवै जनालाई मध्यवर्ती क्षेत्रको जग्गा खनजोत गरेको अवस्थामा पक्राउ गरेको आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले जनाए । पक्राउ पर्ने समूहले मध्यवर्ती क्षेत्रको जग्गा समेत कतिपयलाईं झुक्याएर विक्री गर्ने गरेको समेत गुनासो आएपछि अनुुसन्धान थालिएको छ।
सरकारले विसं २०६१ मा आरक्ष वरिपरिका २१५ वस्तीलाई समेटी एक सय ७३.५० वर्ग किलोमिटर क्षेत्रलाई कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र घोषणा थियो । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन् । पक्राउ पर्ने समूहका दुवै जनाले बढी मात्रमा बराहक्षेत्रको श्रीलंका टापु क्षेत्रको जग्गा खनजोत र विक्री गर्ने गरेको खुलेको छ । श्रीलंका टापुकै बासिन्दा रहेका चन्द्रवंशी र पालले उदयपुरको बेलका नगरपालिकाले घेराबेरा गरेको सरकारी जग्गाको तारजाली समेत भत्काएको खुलेको छ ।
पक्राउ परेका दुवैलाई जिल्ला सरकारी वकिल कार्यालय सुनसरीबाट म्याद थप गरि अनुसन्धान चलिरहेको छ । अनुसन्धानपछि सरकारी वकिल कार्यालयको राय लिएर आरक्षका वार्डेन चौधरीको एकल इजालसले आदेश गर्नेछ ।
पक्राउ पर्नेलाईं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुनेछ । कानुन अुनसार दोषी ठहर भए २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना र छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । पूर्वी तराईका उदयपुर, सप्तरी र सुनसरी जिल्लाका केही भागलाई समेटेर वन्यजन्तु आरक्षको वि.सं. २०३२ मा स्थापना गरिएको हो ।

प्रतिकृया दिनुहोस्