स्वास्थ्य प्रोटोकल पालना गरेर धरानमा विद्यालय खुल्न थाले, शुल्क बिबाद कायमै

धरान । धरान उपमहानगरपालिकाले विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेपछि धरानका अधिकांश विद्यालय खुलेका छन् ।
उपमहानगरपालिकाले न्युनतम मापदण्ड पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णयपछि अधिकांश निजी विद्यालयहरु खुलेको छ । लकडाउन भएयता भौतिक उपस्थितिमा नै आजदेखि पढाई शुरु भएके हो । धरानका मेयर तिलक राईले सरोकारवालहरुसँग छलफल गरेपछि स्वास्थ्य प्रोटोकल पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने मेयरस्तरीय निर्णय गरेका थिए । निर्णय निजी र सरकारी सबै विद्यालयमा लागु हुने गरि भएको हो ।
धरानका निजी विद्यालयहरुले आइतबारदेखि नै माथिल्लो कक्षा शुरु गर्ने तयारी गरेका थिए । तर, मेयर राईले निर्णय गर्न ४ दिनको समय मागेका थिए । ‘सरोकारवालाहरुसँग छलफल गरी सुझाव लियौं, र न्युनतम मापदण्ड निर्माण गरेर, स्वास्थ्य प्रोटोकल लागु गर्ने गरि स्कुल खोल्ने निर्णय गरेका छौं,’मेयर राईले भने ।
निजी विद्यालयहरुले मावि तहको ८,९ र १० कक्षामा विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै पढाई शुरु गरेका छन् । यस्तै, आधारभुत तहका विद्यालयहरु कक्षा ८ सम्म भएकाले कक्षा ७ र ८ को पढाई शुरु गरेका छन् भने कक्षा ५ सम्मका विद्यालयहरुले कक्षा ४ र ५ शुरु गरेको जनाएका छन् । ‘७० प्रतिशत जति स्कुलहरु लागेको छ, बाँकीले पनि सबै तयारी गरेर आइतबारदेखि शुरु हुन्छ,’निजी तथा संस्थागत विद्यालयहरुको एरिया कोअर्डिनेसन कमिटि(एसिसि) धरानका संयोजक राजेन्द्र गुरुङले भने ।
उपमहानगरले बनाएको न्युनतम मापदण्डमा विद्यालयको भौतिक अवस्थालाई ध्यान दिदै एक बेञ्चमा बढीमा २ जना मात्र विद्यार्थी राख्न पाइनेछ । एक कक्षा कोठामा बढीमा २५ जना मात्र विद्यार्थी बस्ने व्यवस्था हुनुपर्ने उल्लेख छ । यस्तै, पठनपाठन गर्नुपुर्व दैनिकरुपमा कक्षा कोठा सेनिटाइज गर्नुपर्नेछ भने विद्यालयको प्रवेशद्धारमा दैनिकरुपमा कर्मचारी, शिक्षक, विद्यार्थीको तापक्रम मापन गर्नुपर्नेछ । यसैगरि, विद्यालयमा अनिवार्यरुपमा सेनिटाइज वा साबुन पानीले हात धुने व्यवस्था पनि गर्नुपर्नेछ । यस्तै, खाजा समयलाई सकेसम्म छोट्याउनुपर्नेछ भने शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
विद्यालय र अभिभावकको सहमतिमा शुल्क
धरान उपमहानगरले विद्यालय सञ्चालक र अभिभावकहरुबीच आपसी सहमति वा समझदारीमा शुल्क कायम गर्ने निर्णय गरेको छ । तर, सहमति वा समझदारी नभएको खण्डमा उपमहानगरले तोके वमोजिम शुल्क कायम हुने पनि निर्णय गरिएको छ ।
सहमति नभएको अवस्थामा निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैयासम्म तोकिएको छ । यस्तै, असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क निजी विद्यालयहरुले लिन पाउने निर्णय भएको छ । असोज महिना भन्दा अघि अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरुले अनलाइन कक्षामा सहभागी भएका विद्यार्थीहरुबाट मात्र मासिक शुल्कको आधा(पचास प्रतिशत) मात्र लिन पाउने निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्