३३ लाखको अवैध कपडा बरामद

३३ लाखको अवैध कपडा बरामद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । विराटनगगरको मेनरोडमा रहेको एक पसलबाट अवैधरूपमा भण्डार गरेको कपडा बरामद गरेको छ । विराटनगर–७ स्थित जलजला चोकमा रहेको ह्वाइट हाउस कपडा पसलबाट बिहीबार ठूलो परिमाणमा कपडा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

तरुण रौनियारले सञ्चालन गरेको ह्वाइट हाउस कपडा पसलमा अवैधरूपमा ल्याइएका कपडा पसलमा बिक्री हुने गरेको पाइएपछि कपडा र मान्छेलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘रौनियारको पसलमा अवैध तरिकाबाट ल्याइएका लाखौं रुपैयाँ बराबरका रेडिमेड कपडा बरामद गरेको हौं,’ एपसपी खड्काले भने, ‘भारतबाट भन्सार छली गरेर अवैधरूपमा ल्याउँदै गोदाममा भण्डारण गरेर पसलमा ग्राहकलाई महँगोमा बिक्री गर्ने गरेको पायौं । कपडा भण्डारण गरिएको कपडाको बिल बिजक देखाउन नसकेपछि पसल सञ्चालक रौनियारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं ।’

प्रहरीका अनुसार पसल रहेको घरको माथिल्लो तलामा भण्डारण गरेर कपडा राखिएको थियो । रौनियारको गोदामबाट सर्ट ३२८३ पिस, जम्फर २३ पिस र पाइन्ट ३५ पिस गरी ३३ लाख ४१ हजार ९ सय रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।