धरानको स्मार्ट बसपार्कको डिपिआर संशोधन, लागत घट्यो

धरानको स्मार्ट बसपार्कको डिपिआर संशोधन, लागत घट्यो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । धरानमा निर्माण गरिने भनिएको स्मार्ट बसपार्कको डिपिआर संशोधन भएको छ भने लागत पनि घटेको छ ।
उपमहानगरपालिकाले धरानको भानुचोकस्थित अव्यवस्थित बसपार्कलाई वडा नं ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाअन्तर्गतको बहुउद्देश्यीय क्षेत्रको जग्गामा निर्माण गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश १ सरकारले धरानमा स्मार्ट बसपार्क बनाउन डिपिआर बनाइदिएको थियो । प्रदेश सरकारले परामर्शदातामार्फत बनाएको डिपिआरको लागि करिब ४३ करोड थियो । उक्त डिपिआरमा धेरै कुरा छुटेकोले उपमहानगरको प्राविधिकहरुले थप गर्दा लागत बढेर झण्डै ६४ करोड पुगेको थियो ।
बसपार्कको लागत स्टिमेट अत्यधिक धेरै भएपछि उपमहानगरपालिकाले डिपिआरलाई संशोधन गरेको जनाएको छ । अहिले संशोधन भएको डिपिआरअनुसार लागत स्टिमेट ३० करोड ६४ लाखमा सिमित भएको आयोजना प्रमुख खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए ।
उपमहानगरले संशोधन भएको डिपिआरबारे बिहिबार सरोकारवाला एवं सर्वपक्षीय छलफल गरेको पनि आयोजना प्रमुख खतिवडाले जानकारी दिए । उनका अनुसार राजनीतिक दलका प्रतिनिधिहरु, यातायात व्यवसायीहरु, विज्ञ समितिलगायतसँग छलफल भएको थियो ।
स्मार्ट बसपार्कको लागि संघीय सरकारको ससर्त अनुदानको बजेटबाट चालु आर्थिक बर्षमा नै निर्माण कार्य अघि बढ्ने उपमहानगरले जनाएको छ । योजना तथा इञ्जिनियरीङ महशाखा प्रमुख सुरज श्रेष्ठका अनुसार संघीय सरकारको २५ करोडको ससर्त अनुदानको बजेट स्मार्ट बसपार्क निर्माण कार्य अघि बढ्नेछ । ससर्त अनुदानको बजेटबाट बसपार्क बनाउने उपमहानगरको प्रस्ताव स्वीकृत भइसकेको उनले बताए ।
तीनकुने सुन्दर बस्ती विकास आयोजना दुई दशकअघि शुरु भएको थियो । तर, बसपार्क सार्ने कि नसार्ने भन्ने विवादसँगै तत्कालिन नगरपालिकाका कर्मचारी र जग्गा व्यापारी मिलेर जग्गा किनेर आफुहरुलाई लाभ पुग्ने गरि डिजाइन गरिएपछि वास्तविक जग्गाधनीहरु आन्दोलित भएका थिए । जनप्रतिनिधिविहिन अवस्था, जग्गाधनीहरुको आन्दोलन र राजनीतिक खिचातानीले लामो समयसम्म आयोजना अलपत्र बनेको थियो ।
२०७४ को स्थानीय तह निर्वाचनपश्चात जनप्रतिनिधिहरुले बसपार्कसहितको यो आयोजनालाई अघि बढाएपनि अपेक्षित उपलब्धी हासिल भएको छैन । २०७५ माघ अन्तिमसाता कार्यवाहक मेयरसमेत रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदीले स्मार्ट बसपार्कको शिलान्यास गरेकी थिइन् ।