स्वास्थ्य बिमा कार्यक्रम ६२ जिल्लामा विस्तार

स्वास्थ्य बिमा कार्यक्रम ६२ जिल्लामा विस्तार
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रसुवा । स्वास्थ्य बिमा कार्यक्रम ६२ जिल्लामा विस्तार भएको छ । शुक्रबार रसुवामा ‘स्वास्थ्य बिमा सदस्यता शुभारम्भ’ कार्यक्रमको सुरु भएसँगै कार्यक्रम ६२ जिल्लामा विस्तार भएको हो ।आर्थिक वर्ष ०७२÷७३ देखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अब १५ जिल्लामा विस्तार हुन बाँकी छ । शुक्रबार जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका पेमा दोर्जे तामाङलाई परिचय पत्र दिएर कार्यक्रमको सुरुवात गरिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रम परिवारमा आधारित वृहत साझेदारी कार्यक्रम हो । कार्यक्रममा पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय र ५ जना भन्दा सदस्य भएका परिवारले प्रति सदस्य थप ७ सय रुपयाँ तिर्नुपर्छ । बिमा गराएपछि पाँच जनासम्मको परिवारले वार्षिक १ लाख र सो भन्दा बढी सदस्य भएका परिवारले २ लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्ने पाइने छ ।
कार्यक्रमको सदस्यता दर्ता चक्र अनुसार सेवा क्रियाशील हुने महिना निर्धारण गरिएको छ । बैशाख, जेठ र असारमा गर्नेको भदौ १, साउन, भदौ र असोजमा गर्नेको मंसिर १, कार्तिक, मंसिर र पुसमा गर्नेको फागुन १ र माघ, फागुन र चैतमा गर्नेको जेठ १ गतेदेखि सेवा क्रियाशील हुने स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्य अनुसार कार्यक्रम विस्तार गरिएको हो । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित हुने प्रदेश संयोजक सिर्जना पौडेलले बताइन् ।