महिला सशक्तिकरणको लागि श्वेताको साइकल यात्रा

धनगढी । १९ दिनअघि मेची पुलबाट साइकल यात्रा तय गरेकी झापा भद्रपुरकी श्वेता श्रेष्ठ शनिबार बेलुकी कैलाली आइपुगेकी हुन् । महिलाहरुलाई सशक्तीकरण गर्न एकल साइकल यात्रा थालेकी श्वेता कैलाली पुगेकी हुन् ।
साइकलको अगाडि सानो गुडियासमेत बोकेर आएकी श्वेताले यो यात्रा भिन्न खालको भएको बताइन् । उनले भनिन्,‘मेरो साइकल अगाडि सानो गुडिया पनि साथमै छ, यसको अर्थ बाल्यकालमा गुडिया खेलौनाको रुपमा हुन्छ भने त्यही बच्चा ठूलो भएमा त्यो गुडियालाई घर सजावटका रुपमा राखिन्छ । त्यस्तै महिला पनि घर सजावटका रुपमा घरभित्रै बस्नु पर्ने बाध्यता छ ।’ उनले त्यही गुडियाको घर सजावट हुने काम भन्दा बाहिर निस्केर महिलाले पनि केही गर्न सक्छिन् भन्ने सन्देश दिनु पनि भएको बताइन् ।
मंसिर १० गतेका दिन मेची पुलबाट यात्रा सुरु गरेकी श्वेता १९ औं दिनमा कैलालीको मझगाउँ आइपुगेकी हुन् । महिलाले एक्लै हिँडडूल गर्न सक्दैनन् भन्ने सोचलाई परिवर्तन गर्दै चाहेमा महिलाले एक्लै पनि साइकल यात्रा गर्न सक्छन् भन्ने देखाउन आफूले मेची महाकाली साइकल यात्रा थालेको उनले बताइन् । मेचीबाट सुरु गरेको यात्राको १० औं दिनमा चितवनको सौराह पुगेकी उनलाई सौराहबाट भने उनका भाइ दिव्यराज श्रेष्ठले पनि साथ दिएका छन् ।
कैलालीबाट सोमबार कञ्चनपुरका लागि यात्रामा निस्कने उनी मंगलबार भने कञ्चनपुरको महाकाली नगरपालिकामा पुगेर साइकल यात्राको समापन गर्ने छिन् । समापनमा कैलालीबाट साइकल यात्री भरतविक्रम शाह पनि सँगै जाने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्