बेलिब्रीज पुनर्जडानपछि गाईघाट दिक्तेल यातायात सुचारु

उदयपुर । सगरमाथा लोकमार्गको सुनकोसीमा बेलिब्रीज पुनर्जडान भएपछि आईतबारदेखि उदयपुर र खोटाङ सोझो यातायातले जोडिएका छन् । उदयपुरको रौतामाई ५ र खोटेहाङ गाउँपालिकाबीच फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रीज पुनर्जडान कार्य सकिएपछि खोटाङ सदरमुकाम दिक्तेल र उदयपुरको गाईघाटबीच सोझो यातायात सम्बन्ध जोडिएको हो ।
फोक्सिन्टारमा पुस पहिलो साता पुनर्जडान सुरु भएको बेलिब्रीज शनिबार सम्पन्न भएपछि सोझो यातायात सुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । गाईघाटदेखि दिक्तेल हुँदै खोटाङका बिभिन्न भागसम्म सोझो यातायातले जोड्ने मुख्य नाका फोक्सिन्टारमा वर्षेनी ६ महिना बेलिब्रीज सञ्चालन गर्ने तथा ६ महिना खोलेर राख्ने गरिएको छ । हरेक वर्षायाम सुरु भएपछि बैशाख जेठमा बेलिब्रीज खोल्ने गरिएको छ भने कोसीमा पानीको सतह घट्दै गएपछि कात्तिक मंसिरमा पुनर्जडान गर्ने गरिएको छ । गत बैशाखमा बेलिब्रीज खोलिएपछि दुई जिल्लाबीचको सोझो यातायात अवरुद्ध हुन पुगेको थियो । हिउँदमा पानी घटेपछि बेलिब्रीज पुनर्जडान गरेर यातायात सञ्चालनमा ल्याइएको सडक कार्यालयका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । उनका अनुसार दसैंअघि नै ठेक्का प्रक्रियामार्फत बेलिब्रीज पुनर्जडान कार्यको जिम्मा दिइएको थियो । तिहार र छठले केहीदिन ढिला भए पनि दुईसातामा काम सकिएपछि यातायात सुचारु भएको खकुरेलले बताए । झण्डै एकदसकदेखि त्यहाँ बेलिब्रीज प्रयोग हुँदै आएको छ । पुल निर्माण थालेको झण्डै ५ वर्ष बितिसक्दासम्म काम अधुरै रहँदा यातायात व्यवसायी र स्थानीयलाई कोसी वारपार गर्न धेरै समस्या परेको रौतमाई ५ का वडाध्यक्ष पाण्डव राईले बताए ।

प्रतिकृया दिनुहोस्