फेवातालमा मापदण्ड मिचेर रातारात बनेका संरचना महानगरले भत्कायो

पोखरा । पोखराको फेवातालको मापदण्ड मिचेर रातारात बनाईरहेका अवैध संरचना पोखरा महानगरपालिकाले भत्काएको छ । फेवातालको पश्चिम उत्तरतर्फ पर्ने खपौंदी क्षेत्रमा फेवातालको मापदण्ड मिचेर स्थानीय खगराज पहारीको जग्गामा व्यवसायी दीपेश श्रेष्ठले निर्माण गरेको अवैध संरचना महानगरले आईतबार विहान डोजर लगाएर भत्काएको हो । शनिबार विहान महानगरले डोजर लगाएर सोहि ठाउँमा संरचना भत्काएको थियो । तर श्रेष्ठले शनिबार साँझदेखि रातारात पुनः संरचना निर्माण गर्न थालेपछि आईतबार महानगरले पुनः डोजर लगाएर भत्काएको पोखरा महानगरपालिका– वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।
पहारीको नाममा लालपूर्जा रहेको सो ठाउँमा यसअघी प्याराग्लाईडिङ ल्याण्डिङ स्थल थियो । प्याराग्लाईडिङ ल्याण्डिङ गरेबापत विभिन्न प्याराग्लाईडिङ कम्पनीबाट उनले भाडा लिने गरेका थिए । फेवातालमा ६५ मिटर मापदण्ड लागु गरिएको छ । तर फेवाताल भित्रैबाट संरचना बनाएपछि यसको विरोध भएको छ ।
फेवातालको त्यस क्षेत्रमा पछिल्लो क्रममा मापदण्ड मिचेर अवैध संरचना बनाउने होडबाजी नै चल्ने गरेको छ । पहारीको भन्दा ३०–४० मिटर पश्चिमतर्फ पछिल्लो १ महिनामा २ वटा संरचना बनिसकेको छ । पछिल्लो ६ महिनामा १० वटा अवैध संरचना बनेका छन् । ती सबै संरचना भत्काइने वडाध्यक्ष थापाले बताए ।

प्रतिकृया दिनुहोस्