विरामी निको भए, कोविड अस्पताल रित्तियो

विरामी निको भए,  कोविड अस्पताल रित्तियो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । स्थापनाको झण्डै ६ महिनापछि उदयपुर कोविड अस्पताल, बेलटार’ रित्तो भएको छ । कोविड संक्रमण तिब्रत रुपमा बढेपछि उदयपुरको चौदण्डीगढी नगरपालिका ६ को सातधारेस्थित स्थापना गरेर सञ्चालनमा ल्याइएको अस्पताल शनिबारदेखि संक्रमितमुक्त भएको हो ।

गएको असार ६ गतेदेखि सञ्चालनमा आएको अस्पतालमा उपचाररत ३ महिलासहित ७ जना सबै संक्रमणमुक्त भएपछि अस्पताल रित्तिएको अस्पताल प्रमुखसमेत रहेका चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेले बताए । उनी स्वयं पनि दुईसाताअघि संक्रमित भएपछि होम आईसोलेसनमा बसेका थिए । उनीसँगै चौदण्डीगढीकै कांग्रेस नेता प्रशान्त राई तथा अन्य दुईजना पनि होम आईसोलेसनबाटै कोरोना पराजित गर्न सफल भएका छन् ।

                स्वास्थ्य प्रमुख पोखरेल अस्पतालमा आएका संक्रमितको उपचार गर्दागर्दै आफै कोविड पोजेटिभ हुन पुगेका थिए । कुनै दिन आधादर्जनसम्म संक्रमित एकैचोटी उपचारार्थ भर्ना हुन आएको अस्पतालमा एकताका ३६ जनासम्म विरामीको उपचार गर्नुपर्दा आफै संक्रमित हुनपुगेको उनले बताए । अहिलेसम्म १ सय ४५ जना संक्रमितको सो अस्पतालमा उपचार भईसकेको र पहिलो चोटी सबै संक्रमित निको भएर फर्केको उनले बताए ।

                चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले पछिल्लो दुईसातायता ११ संक्रमितमध्ये ७ जनाको अस्पतालमा उपचार भईरहेको र ४ जना घरमै आईसोलेसनमा रहेकोमा सबै संक्रमणमुक्त हुन पुगेको बताए । जिल्लामा कोविड संक्रमण उच्च हुँदै गएपछि स्थानीयतहहरु आफै मिलेर कोविड अस्पताल सञ्चालनमा ल्याउँदा स्थानीय संक्रमितलाई धेरै सहज भएको उनले बताए ।