यलम्वर संगीत प्रतियोगिताको उपाधी खोटाङकी प्रवृत्ति राईले जितिन्

खोटाङ । यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी प्रवृत्ति राई प्रथम भएकी छन् । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समिति काठ्माण्डौंले अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरेको यलम्वर संगीत प्रतियोगिताको शनिबार भएको फाईनल अडिसनमा प्रवृत्तिले प्रथम स्थान ओगटेकी हुन् । २०७५ साउन २ गते ओखलढुंगामा सम्पन्न भिजन आईडल फस्ट रनरअप जितेकी प्रवृत्तिले टप टेनमा पुगेका प्रतिष्पर्धीलाई उछिन्दै यलम्वर संगीत प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेकी हुन् । द यलखिम रेष्टुरेण्ट पार्टी प्यालेस ललितपुरमा आयोजना गरिएको फाईनल अडिसनमा सुनसरीकी सरिता राई दोश्रो र खोटाङकै लकेस राई तेश्रो भएको प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक पदम थुलुङले वताए । यस्तै, दर्शक छनौटमा सुनसरीका रामकुमार राईलाई उत्कृष्ट प्रतिभा घोषणा गरिएको छ ।
यलम्वर संगीतका प्रथम, दोश्रो, तेश्रो तथा दर्शकले रुचाएका उत्कृष्ट प्रतियोगीलाई क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाण–पत्र प्रदान गरिने छन् । भर्जुअल प्रतियोगीता गरिएकाले विजेतालाई केही समयपछि पुरस्कार प्रदान गरिने किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ । सामाजिक–साँस्कृतिक जागरण अभियानका रुपमा हरेक वर्ष सञ्चालन गरिँदै आएको प्रतियोगितालाई यसपल्ट कोरोना भाइरसको महामारीका कारण अनलाईन संस्करणमार्फत विश्वव्यापी बनाइएको किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले वताए ।
प्रतिष्पर्धाका लागि आयोजकले गत भदौ २५ गतेदेखि असोज १६ गतेसम्म एमपीफोर फाईल भिडियो पठाउन आव्हान गरेको थियो । जसका लागि विभिन्न १० देशका २१३ जना प्रतिस्पर्धीले भाग लिएका थिए ।
विजेतालाई हङकङ जाने अवसर
यलम्वर संगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने एलम्बर साँझमा सहभागी हुने अवसर पाउने भएका छन् । हरेक वर्ष एलम्बर साँझ सञ्चालन गर्दै आएको किरात राई यायोक्खा हङकङले यलम्वर संगीत प्रतियोगिताका विजेतालाई एलम्बर साँझमा प्रस्तुतीका लागि लैजाने निर्णय गरेको हो । यलम्वर संगीत प्रतियोगिताका दोश्रो पुरस्कार विजेतालाई एउटा गीत रेकर्डको अवशर प्रदान गरिने आयोजकले जनाएको छ । पृथक क्रियसनले गीतको स्टुडियो खर्च निःशुल्क गर्ने र बाँकी खर्च जय राईले प्रायोजन गर्ने प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक थुलुङले वताए ।

प्रतिकृया दिनुहोस्