पर्यटकीयस्थल घोरेपानीका होटल पुस १ देखि खुल्ने

पर्यटकीयस्थल घोरेपानीका होटल पुस १ देखि खुल्ने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म्याग्दी । म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल पुस १ गतेदेखि खुल्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि ९ महिनादेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनको तयारीमा ब्यवसायी जुटेका छन् । घरायसी रुपमा चलाइएका बाहेक अन्य होटलका मजदुर समेत होटलमा फर्किन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला गर्ने निर्णय भएको पर्यटन ब्यवसायी टेकसर बुदुजा पुनले बताए ।

लामो दूरीका सवारीसाधन, आन्तरिक तथा बाह्य हवाइ उडानमा यात्रुको चहलपहल हुन थालेपछि पर्यटन ब्यवसायपनि चलायमान हुन थालेको छ । कोरोनाको महामारी नसकिएको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले पर्यटकमार्फत कोरोना भित्रन सक्ने कारण देखाउँदै गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा आवतजावतमा रोक लगाएको थियो । यसअगाडी घोरेपानीमा भित्रिएका दुई चिनियाँ पर्यटकलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको थियो । घोरेपानीको होटल खुलेसँगै अन्नपूर्णका सबै पर्यटकीयस्थलका होटल खोल्न समेत गाउँपालिकालाई दवाव परेको छ ।

समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, सुर्योदयको अवलोकनका साथै मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पती यहाँको प्रमुख आर्कषण मानिन्छन् ।  जिल्लामा भित्रिने पर्यटकको कुल संख्या मध्ये घोरेपानीमा ६० देखी ७५ प्रतिशत पर्यटक अन्नपुर्ण पदमार्ग अन्र्तरगत घोरपानी, पुनहिलमा पुग्ने गरेका छन् ।