बैतडीमा चिकित्सक अभावले उपचारमा समस्या

बैतडीमा चिकित्सक अभावले उपचारमा समस्या
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी । दरबन्दी अनुसारका चिकित्सक नहुँदा  बैतडीमा स्वास्थ्य उपचारमा समस्या हुने गरेको छ ।  जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको हो । दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता  रहेको छ ।

लामो समयदेखि जिल्ला अस्पताल र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा नागरिकलाई स्वास्थ्य सेवा प्राप्तिमा असहज भइरहेको छ । जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा स्वास्थ्य सेवा पाउन समस्या भएको स्थानीय सुरत पार्कीले बताए । पछिल्लो डेढ वर्षयता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन रहेको उनले बताए ।

अहिले मेलौली नगरपालिका मातहत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको पदपूर्तिका लागि आवेदन आह्वान गरेको भए पनि कोही नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा इसिजी, एक्स–रेलगायतका सेवा सञ्चालनमा आउन सकेका छैनन ।

पाटन प्राथमिक स्वास्थ्य केन्द्र पनि चिकित्सकविहीन भएको छ । केन्द्रमा कार्यरत चिकित्सक अध्ययन बिदामा छन् भने करारमा काम गरिरहेका चिकित्सक सुत्केरी बिदामा बसेपछि स्वास्थ्य केन्द्र चिकत्सकविहीन भएको केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए

जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको दुई शैयाको सघन उपचार कक्ष स्थापना भएको भए पनि चिकित्सक नहुँदा सञ्चालनमा आएको छैन ।