अवैध ट्याक्टर र चिनी बरामद

अवैध ट्याक्टर र चिनी बरामद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । मोरङको धनपालथानबाट सोमबार ठूलो परिमाणमा अवैध चिनी प्रहरीले बरामद गरेको छ । मोरङसँग सीमा जोडिएको क्षेत्रमा चोरी, तस्करी व्यापाक हुन थालेपछि प्रहरीले सक्रियता बढाएसँग अवैध सामान बरामद गर्न थालेको छ ।

पछिल्लो समय धनपालथान तस्करीको अखडा बन्दै गएपछि मोरङ प्रहरीले विशेष निगरानी राख्न थालेका कारण धमाधम अवैध सामग्री बरामद गर्न थालेको प्रहरीले जनाएको छ ।

धनपालथान गाउँपालिका–४ का सुनिल राजवंशीको गोदाममा भारतबाट अवैधरूपमा ल्याइ राखिएको चिनी बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । भारतको कुवाडीबाट तस्करी गरी ल्याइएको २ हजार ४ सय ६० केजी (४९ बोरा) चिनी बजार मूल्य १ लाख ४७ हजार बराबरको रहेको डिएसपी राईले बताए ।

राजवंशीको गोदाम अवैधरूपमा ल्याइएको चिनी पल्टी गरिरहेको अवस्थामा चार जनासहित चिनी ल्याउन प्रयोग गरिएको ३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रंगेली–१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान–२ का १७ वर्षीय दीपककुमार मण्डल र १८ वर्षीय अर्जुनकुमार मण्डल चिनी पल्टी गर्दैगर्दा पक्राउ परेका छन् भने को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिँदै चिनी, पक्राउ परेको मानिस र मोटरसाइकल आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी बरडंगाको प्रहरीको गस्ती टोलीले भारतबाट चोरी पैठारी गरी ल्याउँदै गरेको अनटेष्ट लेखिएको ट्याक्टर फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । १६ लाख रुपैयाँ मूल्य बराबर रहेको उक्त ट्याक्टर नियन्त्रणपछि आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।