उदयपुरको क्रसर उद्योगमा बम विष्फोट

उदयपुर । उदयपुरमा अज्ञात समूहले फेरि एक क्रसर उद्योगमा बम बिष्फोट गराएको छ । त्रियुगा नगरपालिका १४ धाप्लाङस्थित क्रसर उद्योगमा सोमबार राति शक्तिशाली २ वटा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
निर्माणाधीन गाईघाट–दिक्तेल सडकका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न सञ्चालित क्रसरमा राति सवा १० बजे मुखुण्डोधारी आधादर्जन व्यक्तिको समूह आएर विष्फोट गराएको जनाइएको छ । विष्फोटबाट ठेकेदार कम्पनी कञ्चनजंघा–गोल्डेन गुड जेवीको क्रसरमा मोटर, जेसिबी, मेनकन्वीयर बेल्ट र तेलको ड्रममा क्षति पुगेको प्रहरीले जनाएको छ ।
मुखुन्डोधारी समूहले विस्पोट गर्नुपूर्व क्रसरका सुरक्षागार्ड ६० वर्षीय कर्णबहादुर तामाङलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको र प्रतिकार गर्दा कुटपिटसमेत गरेको क्रसर उद्योग प्रतिनिधि सुमन्त कोईरालाले बताए । उनका अनुसार बिष्पोटनबाट १० लाख हाराहारीको क्षति भएको अनुमान छ ।
बिष्पोटपछि पनि समूहले मेसिन घुमाउने फित्ता खुकुरीले काटेर चुँडाउँदै तेलको ड्रममा आगो लगाउने प्रयास गरेकोमा बिष्फोटको आवाज सुनेर घट्नास्थलमा स्थानीयबासी आएपछि उनीहरु भागेका थिए ।
योसँगै महिनादिन नपुग्दै उदयपुरका ३ ठाउँमा बिष्फोटनका घट्ना भएका छन् । मंसिर १८ गते राति कटारी नगरपालिका–८ मर्जेतपुरस्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ५ मजदुर घाईते हुनेगरी ४ वटा बम बिष्फोट गराएको थियो । त्यस्तै मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनको प्रवेशद्वारमा बिष्फोट भएको थियो ।
४ जनालाई पक्राउ
घट्नामा संलग्नको आशंकामा त्रियुगा १४ साउनेकै ३० वर्षीय पवन राई तथा चौदण्डीगढी नगरपालिका ८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दिपक क्षेत्री खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राईलाई मंगलबार विहान १ बजे साउनेस्थित घरैबाट र अन्य ३ जनालाई धाब्लाङ–बेलटार सडक भएर बेलटारतर्फ जाँदै गरेको अवस्थामा मोटरसाईकलसहित विहान ४ बजे नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्