नौमहिनापछि पोखराको तालबाराही मन्दिर खुला

पोखरा । कोरोना भाइरस संक्रमणका कारण नौमहिनादेखि बन्द रहेको फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर विहीबारदेखि भक्तजनका लागि खुला भएको छ । स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर मात्र मन्दिरमा भक्तजनले दर्शन गर्न पाउने गरि मन्दिर खुला गरेको व्यवस्थापन समितिले बताएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले विहीबारदेखि भक्तजनले पुजा गर्न पाउनेगरि मन्दिर खुला गरेको बताए । ‘कोरोना संक्रमणका कारण नौ महिनादेखि मन्दिर बन्द थियो । मन्दिर बन्द हुँदा धेरैतिर गुनासो पनि सुनियो,’ उनले भने, ‘तर, स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर मात्र दर्शन गर्न जान पाउनेगरि विहीबारदेखि खुलाएका छौ ।’
मन्दिर बन्द हुँदा पोखरा आएका आन्तरिक पर्यटक घुम्न जान पाएका थिएनन् । फेवातालको बीच भागमा रहेको यो मन्दिर प्रवेशका लागि डुंगा चढेर जानुपर्छ । मन्दिर नखुल्दा पोखरा आएका सिमित आन्तरिक पाहुना पनि घुम्नै नपाई फर्किने गरेको पर्यटन व्यवसायीले गुनासो गरिरहेका थिए । पोखरा भित्रिएका करिब ९० प्रतिशत आन्तरिक पाहुना मन्दिर घुम्नकै लागि डुंगा चढ्छन् । मन्दिरसम्म आउजाउ गर्ने भक्तजनलाई ओसारपसार गरेकै भरमा डुंगा व्यवसायीले पनि कमाई गर्दै आएका थिए ।
मन्दिरका पुजारी नारायण अधिकारीले एकठाउँबाट मात्र प्रवेश गर्नेगरि पुजाआजा गर्न पाउने बताए । उनका अनुसार मन्दिर प्रवेश गर्नुअघि भक्तजनले स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ । त्यसबाहेक कम्तिमा २ मिटर दुरी पनि कायम गर्नुपर्ने उनले बताए । मन्दिर प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ ।

प्रतिकृया दिनुहोस्