चिनी उद्योगका सञ्चालकविरुद्ध किसानको ठगी मुद्दा, पक्राउ पुर्जी जारी

चिनी उद्योगका सञ्चालकविरुद्ध किसानको ठगी मुद्दा, पक्राउ पुर्जी जारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । रौतहटका उखु किसानहरुले रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडका सञ्चालकले उखुको रकम भुक्तानी नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा उद्योगका सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् । उद्योगका सञ्चालक हितेश गोल्छा, अर्का सञ्चालक विशाल अग्रवाल तथा उपाध्यक्ष पद्यकान्त झाविरुद्ध किसानहरुले बुधवार ठगी मुद्दा दर्ता गराएका हुन् ।

किसानहरुले दर्ता गराएको मुद्दाको आधारमा उद्योगका सञ्चालकहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ । विभिन्न वर्षमा किसानहरुले उद्योगलाई बेचेको उखुको भुक्तानी पाउन करोडौँ रुपैया बाँकी रहेको भन्दै किसानहरुले गत वर्ष पनि आन्दोनल गरेका थिए । किसानहरुसित सम्झौता गरी उद्योग सञ्चालकहरुले २०७६ चैत मसान्तभित्र सम्पूर्ण बाँकी बक्यौता भुक्तान गर्ने सहमति जनाएका थिए  । तर किसानहरुले रकम पाउन सकेका छैनन् ।

गत ६ वर्षदेखिको रकम किसानहरुले पाउन बाँकी रहेको छ । उद्योगबाट किसानहरुले ४१ करोड रुपैया भुक्तानी पाउन बाँकी रहेको छ । आफ्नो उत्पादन उद्योगलाई बेचेर पनि वर्षोैैदेखि उखु किसानहरु भुक्तानी पाउन संघर्ष गर्नु परेको छ ।

किसानहरुले जति धेरै ताकेता गरे पनि किसानको कुरा नसुन्ने, उखु किसानलाई उद्योगका संचालकहरुले भेट गर्न र सम्वाद गर्न नै नचाहने तथा भुक्तानीको विषयमा कुरा गर्न उद्योगपतिलाई फोन गर्दा पनि मोबाइल नउठाउने गरेको आरोप रहेको छ ।

रौतहटका ४६ जना उखु किसानहरुले चिनी मिलको तीन संचालकमाथि ठगी मुद्दा दर्ता गराएपछि भुक्तानीको नयाँ म्याद माग गर्दै उद्योगका सञ्चालकहरुले सम्पर्क गर्न थालेको संघका सल्लाहकार सफिन्द्रप्रसाद यादवले बताएका छन् । उखु सञ्चालकहरुले एक हप्ताको समय माग गरेको तर आफूहरुले एक दुई दिनबाहेक बढी समय दिन नसकिने बताएको यादवको भनाइ छ ।