रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नती

रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नती
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका अनुसार अहिले यो खण्डमा पुल निर्माणको काम अघि बढाइएको छ भने सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ । दोस्रो खण्डको रूपमा रहेको यो सडकको स्तरोन्नतिको काम २०७९ माघमा सकाउने लक्ष्य राखिएको छ ।

मैलुङदेखि स्याफ्रुबेसीको दूरी १९ किलोमिटर रहेको छ । यस खण्डमा निर्माण हुने १२ वटा पुलमध्ये ४ वटाको निर्माण कार्य सुरु भइसकेको छ भने बाँकी ८ वटाको डिजाइन सर्वेको काम भइरहेको छ ।

समयसीमा अगावै निर्माण सम्पन्न गर्नगरी स्तरोन्नतिको कामलाई अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए । नेपाल चीन बीच हुने व्यापारलाई सहज एंव दिगो बनाउनका लागि निर्माण गरिएको सडक भएकाले सबै चासो रहेको र सोही अनुसार ठेकेदारलाई ताकेता गर्ने, अनुगमन गर्ने लगायतका काम भइरहेको उनले बताए ।

यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो । यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।