रेशम चौधरीसहित ७ जनालाई जन्म कैदकै फैसला

कैलाली। उच्च अदालत दिपायलले रेशम चौधरीसहितका ७ जनालाई जिल्ला अदालतकै फैसला सदर गरेको छ । बिहीबार बेलुकी अबेला उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनवाइ गर्दै रेशम चौधरीसहितका ७ जनाको हकमा जिल्ला अदालत कैलालीको २०७५ फागुन २२ गतेको फैसला अनुसार जन्म कैद सदर गरेको हो ।
जिल्ला अदालतको फैसला सदरसँगै केही प्रतिवादीको हकमा मुद्दा उल्टिएको छ । उच्च अदालतका न्यायाधीशद्वय कुँवर र मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै कैद गर्ने फैसला सुनाएको थियो । उच्च अदालत दिपायलका निमित्त रजिष्ट्रार सीता रेग्मीका अनुसार प्रतिवादी रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीसहित ७ जनाको हकमा जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको हो । मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३, ९३० जन्मकैद हुने र सो महलको १५ नंम्बर बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजायसमेत हुने ठहराई कैलाली जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने अदालतको फैसलामा उल्लेख गरिएको रजिष्टार रेग्मीले बताइन् ।
प्रतिवादी लक्ष्मण थारुको हकमा भएको फैसलामा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सो महलको १७ ९३० बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिँदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३ ९४० बमोजिम जन्म कैद हुने लेखिएको छ । साथै प्रतिवादी लक्ष्मणको सोही महलको १५ नम्बर बमोजिम ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद समेत हुने उल्लेख छ ।
यसअघि जिल्ला अदालत कैलालीले थरुहट नेता लक्ष्मण थारुलाई ३ वर्ष जेल सजाय सुनाइएको थियो । उक्त अवधि जेलमा नै काटिसकेकाले उनलाई रिहा गरिएको थियो । रेशमसहितका प्रतिवादीले जिल्ला अदालतको फैसलाविरुद्ध २०७६ फागुनमा उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

प्रतिकृया दिनुहोस्